कोभिड विरुद्धको खोप लगाउने क्रम जारी

सांकेतिक तस्बिर

तनहुँमा तीन दिनका अवधिमा ५ सय ४८ स्वास्थ्यकर्मीले कोभिड विरुद्धको खोप लगाएका छन्। 

खोप अभियानको तेस्रो दिनसम्म जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत ती स्वास्थ्यकर्मीले खोप लगाएका हुन्। 

शुक्रबार घिरिङ गाउँपालिकाका ६०, भीमाद नगरपालिकाका ५८ र शुक्लागण्डकी नगरपालिकाका १ सय १७ ले कोभिड विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। 

खोप अभियानको पहिलो दिन एक सय चार र दोस्रो दिन दुई सय ९ जनाले खोप लगाएको कार्यालयले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यही माघ १९ गतेसम्म जिल्लाका १ हजार ६ सय ७९ स्वास्थ्यकर्मीलाई खोप लगाइँदैछ। खोप लगाउनका लागि दमौलीमा तीन वटा खोप केन्द्र तोकिएको छ। 

उनका अनुसार व्यास नगरपालिका ५ सय ५८, शुक्लागण्डकी नगरपािलका २ सय ६७, भीमाद नगरपालिका १ सय ७७, भानु नगरपालिका १ सय ७१,  म्याग्दे गाउँपालिका ८२, ऋषिङ गाउँपालिकाका ९८,घिरिङ गाउँपालिका ६१, आँबुखैरेनी गाउँपालिका ७३, बन्दीपुर गाउँपालिका १ सय ५ र देवघाट गाउँपालिका ८७ लाई खोप लगाइँदैछ। 

गण्डकीमा ७८९२ लाई खोप लगाइयो

गण्डकी प्रदेशमा आजसम्म ७ हजार ८ सय ९२ लाई कोभिड विरुद्धको खोप लगाइएको छ। स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना विरुद्धको खोप लगाउनेको कुल लक्ष्य १७ हजार ३ सय ९६ मध्ये ४५.३७ प्रतिशत प्रगति भएको छ। यस अवधिमा कोरोना विरुद्धको खोप लगाइसकेपछि कुनैपनि जटिल अवस्थाको अवाञ्छित घटनाहरु नभएको उनले जानकारी दिए। 

कास्कीमा ३ हजार २ सय २६, गोरखामा ५ सय १७, तनहुँमा ५ सय ४८, नवलपुरमा ६ सय, पर्वतमा ४ सय ७६, बागलुङमा ६ सय २६, मनाङमा १ सय १०, मुस्ताङमा १ सय ६, म्याग्दीमा ३ सय १२, लमजुङमा ७ सय ८४, स्याङ्जामा ५ सय ८७ जनालाई खोप लगाइएको छ। 

स्वास्थ्य भवन निर्माण सम्पन्न 

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ। ग्रामीण भेगका जनतालाई वडास्तरमा नै स्वास्थ्य सेवा दिने उद्देश्य सहित स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको हो। 

विसं २०७६ कात्तिक ६ मा शुरु भएको भवन विसं २०७७ असोज २७ मा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए। उनका अनुसार एक हजार एक सय ५६ वर्गफिटमा फैलिएको भवन रु ५३ लाख ३८ हजार २९ को लागतमा सम्पन्न भएको हो। खरादेवी निर्माण सेवा भक्तपुरले भवन निर्माणको जिम्मा पाएको थियो। 

स्वास्थ्य केन्द्रमा एक  एचए, एक  अनमि र कार्यालय सहयोगीको व्यवस्था गरिएको छ। विस्तारै जनशक्ति थपिने उनले बताए। स्वास्थ्य केन्द्रबाट सरकारले उपलब्ध गराएको ३५ प्रकारका औषधि निःशुल्क रुपमा प्राप्त हुनेछ। 

स्वास्थ्य केन्द्रको शुक्रबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले उद्घाटन गर्दै स्वास्थ्य केन्द्रको सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। 

उनले कोभिड खोपको बारेमा अफवाह फैलाउने काम भएको भन्दै गलत प्रचारले स्वास्थ्यकर्मीमाथि नकारात्मक असर परेको बताए। 'खोप सुरक्षित छ, गलत भ्रमको पछाडि लाग्न आवश्यक छैन' उनले बताए।  

गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले वडा वडामा स्थापना भएका आधारभूत स्वास्थ्य केन्द्रबाट अधिकतम सेवा लिन सर्वसाधारणलाई आग्रह गरे। 

गाउँपालिकाले वडा नं १ मा रु ५४ लाखको लागतमा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न गरिसकेको छ भने वडा नं ४ मा भवन निर्माणका लागि बोलपत्र सम्झौता भएको छ।

 गाउँपालिकाले वडा कार्यालय भवन निर्माणलाई समेत तीव्रता दिएको छ। जसबमोजिम वडा नं १ र ५ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ भने वडा नं ४ को निर्माणाधीन अवस्थामा छ। त्यस्तै वडा नं २ को भवन निर्माणका लागि जग्गा एकिन गरिएको छ भने वडा नं ६ को विस्तृत आयोजना प्रतिवेदन तयार भएको छ। 

वडा नं १ को भवन रु ७४ लाख ४२ हजार सात सयको लागतमा सम्पन्न भएको छ। वडा नं ४ को भवन रु ५२ लाख ४२ हजारमा निर्माणाधीन छ। भवनको काम ७० प्रतिशत सम्पन्न भएको छ। वडा नं ५ को भवन रु ५३ लाख ५० हजारमा निर्माण सम्पन्न भएको छ। वडा नं ६ का लागि रु ७० लाख बजेट अनुमानित गरिएको छ। रासस 

प्रकाशित मिति: : 2021-01-30 13:32:00

प्रतिकृया दिनुहोस्