भाइरललाई बाख्राभेडा जसरी गीतमा ल्याउँदा असल कलाकारिताको हत्या गरेको छः विमल अधिकारी

मोडल विमल अधिकारीले भाइरलको नाममा जसलाई पनि बाख्रा–भेडा जसरी गीत संगीतमा ल्याउँदा वर्षौंदेखि संर्घष गरेका कलाकर्मीको कलाकारिता हत्या गरेको बताएका छन्।

आफ्नो गीत ‘पछ्यौरी लिस्यो’ गीतको करोड क्लब ‘सेलिब्रेसन’ कार्यक्रममा बोल्दै अधिकारीले भने, ‘पछिल्लो समयमा लोकगीत क्षेत्रमा भाइरल भन्दै खुट्टा भाँचिएका, श्रीमतीले छोडेका, अलिअलि गाउन खोज्ने बालबालिकालाई जथाभावी गीतसंगीतमा ल्याउँदा यो क्षेत्र बाख्राको खोरजस्तै फोहोर भएको छ। यसले असल कलाकर्मीको कलाकारितालाई हत्या गरेको छ।’ 

पैसा कमाउने नाममा आफू कहिल्यै त्यस्ता भइरल व्यक्तिको पछि नलागेको बताउँदै अधिकारीले भने, ‘सहयोग पाइन्छ कि भनेर कला र क्षमता नभएका व्यक्तिलाई  गीत–संगीतमा ल्याउने र पैसा उठाउने काम बन्द होस्, बरु सहयोग नै चाहिँको हो भने लोकदोहोरी प्रतिष्ठानमा आउनुहोस्, हामी सहयोग गर्छौं तर सहयोग पाउने आशा लिएर स्टुडियो नआउनुहोस्, यस्तो प्रवृतिले संगीत क्षेत्रमा दीर्घकालसम्म असर पर्छ।’

आक्रोसित देखिएका उनले भने, ‘बरु सहयोगका लागि अन्य उपायबाट जानुहोस्। कला नभएका व्यक्ति यो क्षेत्रमा नआउनुहोस् । भाइरलहरुका कारण वर्षाैदेखि गीत संगीतमा लागेका कलाकार अहिले खान नपुग्ने अवस्थामा छन्। यो उहाँहरुलाई सीधै भाला हानेजस्तो भएको छ।’

भाइरल भन्दै कम उमेर समूहकालाई गीत संगीतमा ल्याउँने प्रबृति उनलाई मन परेको छैन। उनले भने, ‘कम उमेर समुहकालाई उनीहरुको स्तर अनुसारका बालगीत बनाऔं। एकैचोटी यसरी ल्याउँदा उनीहरुलाई असर गर्छ, कम उमेरकालाई आफ्नै तरिकाले आउन दिऊँ।’ 

उनले ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ जसरी भाइरललाई प्रयोग गरेर केही महिना कमाउँने त्यसपछि उसैलाई अप्ठारो पर्ने काम कलाकार र युट्युबरबाट भएको आरोप लगाएका छन्।

प्रकाशित मिति: : 2021-01-29 14:52:00

प्रतिकृया दिनुहोस्