‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताएका छन्।

सहिद दिवस २०७७ का अवसरमा सन्देश दिँदै उनले जनतालाई अधिकार सम्पन्न बनाई सहिदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरेको बताए। प्रधानमन्त्री ओलीले सहिदको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेकोसमेत बताए।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य रहेको उनको भनाइ छ।

“सुस्थीर राजनीतिमा व्यवधान पैदा गर्दै मुलुकको विकास र समृद्धिको आकांक्षाविरुद्ध खडा गरिएका चुनौतीलाई हामी सबैले एकजुट भएर पराजित गर्नुपर्दछ”, सन्देशमा उनले भनेका छन्, “हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यावहारिकरुपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामलाई प्रभावकारी ढङ्गबाट अघि बढाउँदै हामी सुशासन र विकासको बाटोबाट अघि बढ्ने छौँ। हाम्रा अमर सहिदको बलिदानीले हामीलाई देखाएको मार्गदर्शन पनि यही हो।”

लोकतान्त्रिक अधिकार, कानूनी राज्य, न्याय र समानतामा आधारित राज्यव्यवस्थासहितको प्रणाली संस्थागत भएपछि अधिकारप्राप्तिका लागि गरिएको लामो संघर्षको चरण पूरा गरेकोसमेत उनले बताए।

प्रकाशित मिति: : 2021-01-29 07:57:00

प्रतिकृया दिनुहोस्