ठगी सूचीका म्यानपावरतिर श्रममन्त्रीको ध्यान, 'सेटिङ'मा कारबाही फुकुवा

शिलापत्र

काठमाडाै‌ं

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी कारबाहीकाे सूचीमा परेका म्यानपावर कम्पनीलाई जाेगाउन उद्यत देखिएका छन् । रोजगारीका नाममा ठगिएकाहरूलाई न्यायका लागि पहल गर्नुकाे साटाे मन्त्री चाैधरी वैदेशिक राेजगार विभागले ठगी सूचीमा राखेका म्यानपावरलाई जाेगाउन लागिपरेका हुन् ।

विभाग र वैदेशिक राेजगार महाशाखालाई सुइँकाे समेत नदिई श्रममन्त्री चाैधरीले साेमबार कतार प्रहरीका लागि भन्दै गैरकानुनी रूपमा अन्तर्वार्ता लिने एसओएस म्यानपावर प्रालिमाथिको कारबाही फुकुवा गरिदिए । अब उनी कारबाहीमा परेका अन्य केही कम्पनीलाई उन्मुक्ति दिन लागिपरेका मन्त्रालय स्राेत बताउँछ । 

मन्त्रालयका कर्मचारीले समेत एसओएस म्यानपावरमाथि कारबाही फुकुवाकाे निर्णय विभागका महानिर्देशकको टेबुलमा पुगेपछि मात्र थाहा पाएका थिए ।  

कतार प्रहरीका लागि भन्दै गैरकानुनी रूपमा अन्तर्वार्ता लिइरहेको अवस्थामा छापा मारी गत ८ मंसिरमा विभागले एसओएसलाई कारबाही गरेकाे थियाे ।

वैदेशिक रोजगार ऐन २०७५ विपरीत अन्तर्वार्ता लिएको भन्दै विभागले एसओएसलाई ६ महिनासम्म काम गर्न राेक लगाएकाे थियाे । तर, दुई महिना पनि नपुग्दै श्रममन्त्री चाैधरीले म्यानपावरमाथिकाे कारबाही  उल्ट्याइइदिए ।

मन्त्रालयका एक कर्मचारीका अनुसार चौधरीले कारबाही फुकुवा गर्ने म्यानपावरकाे सूची नै तयार गरेका छन् । 'उहाँ यतिमै राेकिने छाँटकाँट छैन', मन्त्रालयका ती कर्मचारीले भने, 'उहाँकाे टेबुलमा अन्य म्यानपावरका फाइल पनि पुगेका छन्, जसमा चाँडै निर्णय हुन सक्छ।'

प्रकाशित मिति: : 2021-01-28 07:40:00

प्रतिकृया दिनुहोस्