लक्ष्मण दर्नाल
काठमाडौँ, माघ १५ गते । मेलम्ची खोलाको पानी काठमाडौँ आउन कम्तीमा अझै तीन महिना लाग्ने भएको छ । आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी)ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुुझाव दिएपछि एक महिना थप काम गर्नुपर्ने भएको छ ।
पानी पथान्तरणको दुई महिनापछि मेलम्चीको पानी सुन्दरीजलमा आउनेछ । जसअनुसार मेलम्चीको पानी काठमाडौँ आउन कम्तीमा तीन महिना तालिकाअनुसारको काम गर्नुपर्नेछ । विज्ञ टोलीले दिएको सुधारका काम सम्पन्न भएपछि पानी पथान्तरण गरिनेछ । सुधारको काम गर्न एक महिना लाग्नेछ ।
मेलम्ची खानेपानी विकास समितिका अनुसार फागुन पहिलो हप्ता सुधारको काम सकिनेछ । सुधारको काम सकिएपछि पानी पथान्तरण तथा सुरुङको परीक्षण गरिनेछ । दुई महिना पथान्तरण गरिएपछि सुन्दरीजलमा पानी पठाइनेछ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री भन्नुहुन्छ, “फागुन पहिलो हप्ता सुधारका काम सबै सकिन्छ, त्यसपछि दुई महिना सुरुङ टेस्टिङ गर्न लाग्छ अनि मात्र पानी आउँछ । ”
मेलम्चीमा सुरुङ प्रवेशद्वार (गेट)को जडान र फिनिसिङ सम्पन्न भएपछि पानी पथान्तरण गर्नुअघि प्राविधिक टोलीमार्फत अनुगमन गरिएको थियो । हाल प्राविधिक टोलीले दिएको सुुझावअनुसार थप काम भइरहेको खत्रीले जानकारी दिनुुभयो । उहाँका अनुसार टोलीले सुरुङ फिनिसिङमा थप बलियो गरी काम गर्नुपर्नेलगायतका प्राविधिक काम गर्न सिफारिस गरेको छ ।
खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले भन्नुभयो, “एडीबीको प्राविधिक टोलीले सुरुङको बेसलाइनको सुधार, भित्ता थप बलियो बनाउनुपर्नेलगायत सुरुङभित्रका सानातिना सुुधार गर्नुपर्ने सुुझाव दिएको छ । रिपोर्टले दिएका कुरा हामी अहिल्यै सम्बोधन गरेर जाने गरी काम भइरहेको छ । करिब एक महिनामा सुधारका काम सम्पन्न भएपछि पानी पथान्तरणको प्रक्रिया अघि बढ्छ । ”
मेलम्ची खानेपानी विकास समिति प्रवेशद्वार जडान गरी पानी पथान्तरणको तयारीमा रहेका बेला एडीबीले चार जना विदेशी परामर्शदाता ल्याएर पुसमा एक हप्ता अनुगमन गराएको थियो । समितिका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ । पहिलो चरणमा सुरङमा पानी पठाएर होल्ड (पथान्तरण) गरिनेछ । उक्त पानी सुरुङबाट बाहिर फालेर पुनः पथान्तरण गरिनेछ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी ल्याइनेछ ।