गीता नै कृष्ण र कृष्ण नै गीता

देशसञ्चार

काठमाडौँ

देवेन्द्रप्रसाद सिटौला

मानिस मनको धनी छ। मन, मानस र मानिस यी तीन शब्दले पृथ्वीमा उत्पन्न चेतना, होस र बोध भएको सर्वश्रेष्ठ प्राणीको अस्तित्वलाई जनाउँछ। पृथ्वीमा मानवको उत्पत्ति बारेमा भौतिक विज्ञान र अध्यात्म विद्याका बेग्ला बेग्लै मत छन्। भौतिक विज्ञानले एक कोषीय जीवबाट विनाश हुँदै हुँदै मानिस जस्तो चेतनशील प्राणीमा आइपुगेको कुरा गर्छ भने अध्यात्म विज्ञानले सृष्टिक्रममा मानिस ईश्वरबाट, परमात्माबाट वा भनौँ समग्र अस्तित्वबाट सिर्जना भएका असंख्य प्राणी र वनस्पतिमा सर्वश्रेष्ठ रुप भएको एउटा विशिष्ठ र चेतनायुक्त जीवका रुपमा लिइन्छ। त्यसैले यो चेतनशील प्राणीलाई मानव जीवन भनिन्छ।

वास्तवमा ब्रम्हाण्ड कहाँबाट र कहिले उत्पत्ति भयो भन्ने कुरा र यो विश्व ब्रम्हाण्डको एउटा अंश पृथ्वीको उत्पत्ति भयो भन्ने कुरा र यो विश्वब्रम्हाण्डको एउटा अंश पृथ्वीको उत्पत्तिबारे जति खोज गरे पनि पूर्ण रुपले प्रमाणिक हुने, सबैलाई ग्राह्य र पाच्य तथा स्वीकार्य हुने उत्पत्तिको विज्ञान तथा सिद्धान्त अहिलेसम्म पनि प्रस्तुत हुन सकेको देखिँदैन। यसको खोजीमा आधुनिक विज्ञान प्रयासरत छ र पुरातन खोजीमा अध्यात्य तथा धर्म छ र यिनीहरुको शाखाहरु छन्। शास्त्रहरु र संहिताहरुका रुपमा।

विज्ञानले पदार्थ र ऊर्जालाई मान्छ र त्यसमा भौतिक रुपले अध्ययन र अनुसन्धानमा काम गर्छ। अध्यात्मले चेतना अर्थात कारण जगत र ऊर्जा अर्थात सुक्ष्मता र पदार्थ अर्थात स्थूलतालाई जान्दछ र मान्छ। विज्ञानले वुद्धि, दिमाग तथा मनका आधारमा काम गर्छ, तर अध्यात्मले चाहिँ वुद्धि र मनभन्दा परको अवस्था– चेतनालाई सर्वोत्कृष्ट र सबै वस्तुको उद्गमको स्रोत मान्छ। त्यही चेतनाको विशिष्ठ अवस्था नै ईश्वर हो, परमात्मा हो र त्यो निराकार, निर्विकार र सर्वव्यापी छ भन्ने मान्छ। पदार्थ र ऊर्जाको अवस्था दृष्यमान जगतको बनावटमा छ तर अदृष्य रुपमा चाहिँ चेतना अर्थात कारण जगत छ भन्ने कुरा अध्यात्मको क्षेत्रको विषय हो।

प्रकाशित मिति: : 2021-01-27 20:58:00

प्रतिकृया दिनुहोस्