प्रदेश नं २ खोप अभियानः ३४ हजारलाई लगाइँदै

सांकेतिक तस्बिर

कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान बुधबारदेखि प्रदेश नं २ मा पनि शुरु भएको छ। प्रदेशका आठ वटै जिल्लाबाट एकैसाथ यो अभियान प्रारम्भ भएको हो।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा शुरु भएको अभियानअन्तर्गत प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले पहिलो खोप लगाएका छन्। मन्त्री यादव कोरोना पोजेटिभसमेत भएका थिए। 

खोप लगाएपछि मन्त्री यादवले कोरोना विरुद्धको खोप लगाउन सबैलाई आग्रह भए। 'खोपको साइड इफेक्ट छैन। भए पनि अत्यन्त न्यून छ। त्यही भएर डराउनुपर्ने र हच्किनुपर्ने अवस्था छैन' उनले भने, 'स्वास्थ्यकर्मीको सल्लाह अनुसार सबैजनाले खोप लगाउनुहोस्, कोरोना सङ्क्रमण अन्त्य नभएको र यसको अर्को विकल्प पनि नभएकाले खोप नै विश्वसनीय उपाय हो।'

प्रदेश नं २ कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी जोखिममा रहेको स्मरण गर्दै मन्त्री यादवले त्यस बेला यो प्रदेशका मानिसलाई हेरेर अन्य प्रदेशका मानिस तर्सिरहेको र संवेदनहीन वक्तव्य पनि दिने गरेको बताए। आफ्नो ज्यान जोखिममा राखेर कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सक्रिय रुपमा लाग्ने स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलगायत सबैलाई उनले धन्यवाद दिए। एउटा योद्धाले युद्ध मैदानमा काम गरेजस्तै काम गर्दा कोरोना भाइरस सङ्क्रमणलाई रोक्न सफल भएको उनको भनाइ छ। हामीजस्तो विकासशील देशमा एक वर्षभित्रै खोप आउनु ठूलो उपलब्धी रहेको भन्दै उहाँले दुःखको बेला सहयोग गर्ने छिमेकी मुलुक भारतलाई प्रदेश सरकारको तर्फबाट धन्यवाद समेत दिए।    

कोभिड–१९ विरुद्धको खोप अभियान बुधबारदेखि धनुषाको जनकपुरधाम, पर्साको वीरगञ्ज र सप्तरीको राजविराजबाट एकैसाथ शुरु भएको हो। जनकपुरधाममा प्रादेशिक अस्पताल, वीरगञ्जमा नारायणी उपक्षेत्रीय अस्पताल र राजविराजमा गजेन्द्रनारायण सिंह अस्पतालबाट अभियान शुरु भएको हो। वीरगञ्जमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र राजविराजमा समाजिक विकास मन्त्री नवलकिशोर साहले सो अभियानको शुभारम्भ गरेका थिए। 

मन्त्री यादवपछि प्रदेशिक अस्पतालका नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेसु डा. प्रमोद यादवले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् भने बाँकी चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, शववाहन चालकले खोप लिन शुरु गरेका छन्। 

पहिलो चरणमा प्रादेशिक अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी र शववाहन चालकसहित २२५ जनालाई खोप दिइने छ। त्यसपछि जिल्लाका अन्य स्वास्थ्य संस्था, निजी अस्पतालका स्वास्थ्यकर्मीलाई खोप दिइने अस्पलतालका मेसु डा. प्रमोद यादवले जानकारी दिए। 

पहिलो चरणका लागि प्रदेश नं २ मा ३४ हजार ८०४ डोज कोरोना भ्याक्सिन आएकोमा हालसम्म ३१ हजारभन्दा बढीको नाम सङ्कलन गरिएको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले बताए। पहिलो चरणमा भ्याक्सिन लिनेमा २३ हजार ७१ जना चिकित्सक तथा नर्सहरूको नाम दर्ता गरिएको छ। तीमध्ये सरकारी अस्पतालका ११ हजार ७ सय ३७ र निजी अस्पतालका ११ हजार ३ सय ३४ जनाको नाम दर्ता गरिएको छ। त्यस्तै ७ हजार २७ महिला स्वयंसेवीका र एक हजार २०४ सरसफाईकर्मीको नाम दर्ता गरिएको निमित्त निर्देशक झाले बताए।  
    
पहिलो चरणमा प्रदेश सरकारले सबैभन्दा बढी धनुषामा ९ हजार १ सय ८२, पर्सामा ४ हजार ९ सय ७१, सर्लाहीमा ४ हजार ७ सय ७२, सिरहामा ३ हजार ९ सय ३०, सप्तरीमा ३ हजार ७ सय ५४, रौतहटमा ३ हजार ६ सय ९, महोत्तरीमा २ हजार १ सय ९१ र बारामा २ हजार ३ सय ९५ डोज खोप लगाउने बताइएको छ। रासस 

प्रकाशित मिति: : 2021-01-27 17:48:00

प्रतिकृया दिनुहोस्