‘महिनावारीका बेला गरिने छुवाछूतले मन पोल्छ’

बाह्रखरी

काठमाडाै‌ं

काठमाडौं । ‘देउता’को डरले हुम्लाका महिला छाउपडी मान्न बाध्य छन् । सर्केगाड गाउँपालिका–१, जैरकी निरता धामी कक्षा–९ मा पढ्छिन् । उनलाई विद्यालयमा प्रजनन् स्वास्थ्य तथा महिला प्रजनन् अधिकारबारे पढाइन्छ । उनी यस विषयमा राम्रै जानकार छिन् । तर, आफैँ छाउपडी कुप्रथा मान्न बाध्य छिन् ।

१५ वर्षीया धामीलाई महिनावारीको समयमा पोसिलो खानेकुरा खानुपर्छ, सरसफाइ र आराम गर्नुपर्छ भन्ने पनि थाहा छ । तर, उनी यी सबै कुराबाट वञ्चित हुन्छिन् ।

‘‘महिनावारीको समयमा गरिने छुवाछुतले भने मन पोल्छ,’’ उनले भनिन् ‘‘हरेक महिना महिनावारी हुँदा अपराधीजस्तो अलग्गै गोठमा बस्नुपर्छ । मैले पढेर पनि केही काम लागेको छैन । मलाई समाजको देउता र बूढापाका मानिसले जितिहाल्छन् ।’’

महिला भएकै कारण हरेक महिना पीडा खेप्नुपर्ने उनले सुनाइन् ।  ‘‘कार्तिक पूर्णिमाको दिन सबैजना मेलामा गए । साथीहरु सबैले मेला हेरे । रमाइलो गरे । मिठामिठा परिकार खाए । तर, म भने एक्लै गोठमा रुँदै बसेँ । बेलुकीपख आँगनमा के टेकेकी थिएँ, आमाले किन आइस्, यहाँ आउनु हुँदैन भनेर छाउगोठमै पठाउनुभयो,’’ उनले भनिन् ।

प्रकाशित मिति: : 2021-01-27 09:01:00

प्रतिकृया दिनुहोस्