केपी ओलीको झाँगिदो तानाशाहीतन्त्र छिनछिनको क्रोध, छुद्रता र असहिष्णुताबाट प्रस्फुटित हुँदैछ। कुतर्क र अपव्याख्याको जबर्जस्तीमा गरिएको संसद विघटनको पृष्ठभूमिमा उनका क्रियाकलाप हास्यापद त थिए नै, त्यसमाथि पछिल्ला दिनको व्यवहार हेर्दा चाहिँ उनको मानसिकता नै असामान्य बनिसकेको भान हुन्छ। मुलुकको कार्यकारी प्रमुख यस्तो मनोवस्थामा लामो समय रहँदा जनताले भोग्ने परिणति अकल्पनीय हुनसक्छ। हेर्दा तानाशाहीतन्त्र मात्र, तर भोग्दा कहालिलाग्दो बर्बर व्यवस्था। नेपाल यस्तै घोर नियतिमा अल्झेको छ, यो बखत।
केही दिनअघि एउटा युट्युब भिडियो हेर्दै थिएँ, ओलीका बयोवृद्ध पिता आफ्नो दिनचर्या बयान गर्दै थिए। उनी गाउँमा बसेर गाउँले, चिनारु वा जो कोही बिसञ्चो भएर आउँदा आफूले जानेको ओखतीमुलो भन्दिनेमा आनन्द मान्ने रहेछन्। बडो मिठो मिजासका बाबै आफ्ना पुत्र–प्रधानमन्त्रीको बाल्यकाल र स्वभावबारे पनि अतिवात्सल्यपूर्ण बखान गर्दै थिए। उनको किस्सा मोहक थियो– सर्पले बेरिसकेको अवस्थाबाट बालक खड्गप्रसाद बचे, त्यसकै आधारमा ज्योतिषिले राजयोगको लख काट्यो।
बा–ओलीको त्यो राजयोग–विश्वासकै निरन्तरतामा आज तिनै खड्गप्रसाद आफ्नै जोडबलमा जारी गरेको संविधानलाई बागमतीमा बगाएर दीर्घसत्ताको याचनासहित पशुपतिनाथ पुगेका छन्। त्यसका लागि ग्रहदशा बिचार्ने बा–ओलीलाई खड्गप्रसादले सोधे सोधेनन्, कुनै विज्ञप्तिमा उल्लेख छैन। तर, लोकलाजको सर्पले सर्वाङ्ग बाँधिसक्दा पनि पुत्र–प्रधानमन्त्री ढिम्केका छैनन्। बरु, त्यतिमै हात झड्कालेर दुनियाँलाई सोध्दैछन्– ‘मजस्तो चार मिर्गाैला भएको प्रधानमन्त्री संसारमै कहीँ छ?’