पूर्वलडाकुको ‘अयोग्य’ बिल्ला हट्ने, द्वन्द्वका सबै घाइतेलाई भत्ता दिने तयारी

बाह्रखरी

काठमाडाै‌ं

काठमाडौं । सरकारले जनयुद्ध र जनआन्दोलनमा सहभागी र प्रभावितलाई लक्षित गर्दै विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ । गृह मन्त्रालयको पहलमा सरकारले युद्धका क्रममा ज्यान गुमाएका, घाइते, बेपत्तालाई लक्षित गरेर विशेष प्याकेजको व्यवस्था गर्न लागेको हो । सरकारको यो कदमबाट पूर्व माओवादी नेता–कार्यकर्तालाई बढी राहत मिल्नेछ ।

माओवादी युद्धका कट्टर आलोचक मानिने प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय युद्धकालीन माओवादी कार्यकर्ताका बारेमा उदार देखिएका छन् । उनले अधिकाशं कार्यक्रममा युद्धमा ज्यान गुमाएका माओवादी कार्यकर्ता, बेपत्ता र घाइते परिवारको कुरा गर्दै आएका छन् । ओली प्रचण्डप्रति आक्रामक र कार्यकर्ताहरुप्रति सकारात्मक देखिँदै आएका छन् ।

नेकपा विभजनपछि पूर्वमाओवादीलाई आफ्नो पक्षमा पार्न प्रधानमन्त्री ओली पूर्वलडाकुलाई आफ्नो पक्षमा पार्न सक्रिय रहेको बताइन्छ । पूर्वलडाकुलाई आफ्नो पक्षमा पार्न सके त्यसको प्रयोग निर्वाचनमा गर्न सकिने कतिपयको बुझाइ छ ।

गृह स्रोतका अनुसार तत्कालीन युद्धमा माओवादी लडाकुमा आबद्धहरुमध्ये धेरै प्रमाणीकरणको समयमा अयोग्य भन्दै निकालिएका थिए । सोही समयदेखि उनीहरुले आफूमाथि लागेको अयोग्यको बिल्ला हटाउनुपर्ने माग गर्दै आएका छन् । उनीहरुमाथि लागेको अयोग्यको बिल्ला हटाएर परिचयपत्र वितरण गर्ने आइतबार साँझ बसेको मन्त्रिपरिषद्‌को बैठकले निर्णय गरेको बताइएको छ ।

प्रकाशित मिति: : 2021-01-26 10:35:00

प्रतिकृया दिनुहोस्