कृष्ण न्यौपाने
तनहुँ जिल्लामा २० हजारभन्दा बढी मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार गत पुस ५ गतेसम्म जिल्लामा २० हजार २४ मतदाता थपिएका हुन् । यसअघि २०७४ सालको निर्वाचनमा जिल्लामा दुई लाख ११ हजार ३९६ मतदाता थिए । गत पुस ५ गतेभन्दा अगाडि दुई लाख ३१ हजार ४२० मतदाता पुगेका छन् ।
'यसबीचमा २० हजार २४ मतदाता थपिएको अवस्था छ, अद्यावधिक सकेपछि वास्तविक मतदाता पहिचान हुनेछन्' निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले भने ।
तनहुँमा गत निर्वाचनमा दश वटै स्थानीय तहमा गरी १३६ मतदानस्थल र २६५ मतदान केन्द्र रहेका छन् । सरकारले वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेसँगै तनहुँमा निर्वाचनको तयारी शुरु गरिएको छ । कार्यालय प्रमुख शर्माका अनुसार माघ १५ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्न लागिएको छ । कार्यालयले जिल्लाका १० वटै स्थानीय तहमा सहायक नामदर्ता अधिकारी तोकिसकेको छ । उनका अनुसार सहायक नाम दर्ता अधिकारीलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
गत पुस ५ गतेसम्ममा मतदाता नामावलीका लागि नाम सङ्कलन भई सोही मितिसम्म १८ वर्ष पुगेका व्यक्तिहरुको नामावली अद्यावधिकका लागि सबै स्थानीय तहमा नामावली पठाइने प्रमुख शर्माले बताए । त्यसपछि मतदाता नामावली प्रकाशन, कुनै मतदाताको नाम वा विवरणमा कुनै त्रुटि भएमा सच्च्याउनका लागि निवेदन दिने, कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए प्रमाणसहित उजूरी दिने, दोहोरो नाम हटाउन निवेदन दिनेलगायत कार्य गरिनेछ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी एवं मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका अध्यक्ष सागर आचार्यले निर्वाचनको तयारीका लागि दुई पटक बैठक बसी आवश्यक तयारी शुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा मतदान केन्द्र हेरफेर र पुनरावलोकनका लागि छलफल भए पनि टुङ्गो लाग्न बाँकी छ । 'राजनीतिक दलहरुका तर्फबाट मतदान केन्द्र थप्न प्रस्ताव आएको छ' उनले भने, 'माघ १३ र १४ गते पुनः बैठक बस्छौँ, त्यसपछि केही टुङ्गो लाग्ला ।'
ग्रामीण भेगमा बिजुली विस्तार
ऋषिङ गाउँपालिका–७ स्थित दधिवन गाउँमा विद्युत् सेवा विस्तार भएको छ । गाउँपालिकाको विकट बस्तीका रुपमा रहेको दधिवनमा आज पहिलोपटक बत्ती बलेपछि स्थानीयवासी खुशी भएका छन् ।
दधिवनको ५६ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनबाट बिजुली विस्तार गरिएको वडाध्यक्ष जङ्वीर आलेले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको करीब रु दश लाखको लागतमा दधिवनमा विद्युतीकरण गरिएको हो ।
'अहिलेसम्म टुकी, मैनबत्ती र सोलारको भरमा बत्ती बाल्दै आएका स्थानीयवासी घरमा बिजुली आएपछि हर्षित भएका छन्' उनले भने । उनका अनुसार केही घरधुरीमा मात्रै सोलार थियो । बाँकी घर टुक र मैनबत्तीमै भर पर्नुपथ्र्यो । छरिएर रहेको बस्ती भएका कारण विद्युतीकरणमा समय लागेको उहाँले जानकारी दिए ।
ऋषिङ गाउँपालिका–७ को ४५ घरधुरीमा अझै पनि बिजुली पुगेको छैन । ती घरधुरीमा पनि चालू आर्थिक वर्षभित्रै बत्ती बाल्ने लक्ष्य रहेको छ । 'बाँकी घरधुरीमा बत्ती बाल्न कामहरु भइरहेका छन्, यही आर्थिक वर्षभित्रै सकिन्छ' उनले भने । उनले गाउँपालिकामा जनप्रतिनिधि आइसकेपछि यस वडाको २०० भन्दा बढी घरधुरीमा बिजुली बलिसकेको छ । उनका अनुसार उक्त वडाको कान्छे, दधिवन, ज्यामिरे, चुडाहरलगायत गाउँमा बत्ती पुगेको छ ।
विद्युतीकरणको उद्घाटन गर्दै संविधानसभा सदस्य झुलबहादुर आलेले विद्युत् विस्तारपछि अब जनताको जीवनस्तर फेरिने बताए । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले चुनावमा गरिएको प्रतिबद्धताबमोजिम दधिवनमा बत्ती बाल्न सकिएको बताए । 'चुनावमा जाँदै गर्दा बत्ती नपुगेका गाउँमा बत्ती बालछौं भनेका थियौँ, केही समय ढिलाइ भयो तर आज उक्त प्रतिबद्धता पूरा भएको छ' उनले भने ।
तनहुँको घिरिङ गाउँपालिकाले पनि विद्युतीकरण अभियानलाई तीव्र पारेको छ । घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले गाउँपालिकाका करीब ५०० घरमा विद्युतीकरणका लागि काम भइरहेको जानकारी दिए । उपभोक्ता समितिले केही समयअगाडि मात्रै अत्रौली, पुट्टार, माहोरकोटलगायत ठाउँमा बत्ती बालिसकेको छ । गाउँपालिकामा जनप्रतिनिधि आएपछि करीब एक हजार ४०० भन्दा बढी घरमा बत्ती बलिसकेको छ । गाउँपालिकाले विद्युतीकरणका लागि गत वर्ष रु एक करोड बजेट विनियोजन गरिएको थियो ।
आफ्नै भवनबाट सेवा प्रवाह गर्ने अभियानमा आँबुखैरेनी
आँबुखैरेनी गाउँपालिकाले प्रमुख प्रशासकीय भवन र वडा कार्यालयका भवन निर्माण कार्यलाई प्राथमिकता दिएको छ । आफ्नै भवनबाट सेवा प्रवाह गर्ने उद्देश्यका साथ गाउँपालिकाले प्रमुख प्रशासकीय भवन र वडा कार्यालयका भवन निर्माणलाई प्राथमिकता दिएको हो ।
सोही बमोजिम निर्माण शुरु भएको प्रमुख प्रशासकीय भवनको काम ८० प्रतिशत सम्पन्न भएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको काम फागुन मसान्तभित्र सम्पन्न हुने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए । रु तीन करोड ७७ लाखको लागतमा निर्माण शुरु भएको भवनमा रु एक लाख २५ हजार खर्च भइसकेको छ । “फागुन मसान्तभित्र निर्माण सकेर नयाँ भवनबाट सेवा प्रवाह गर्ने लक्ष्य राखेका छौँ' उनले भने ।
गाउँपालिकाले हाल कच्ची भवनबाट सेवा प्रवाह गरिरहेको छ । 'साँघुरो भवनबाट सेवा प्रवाह गर्दा असहज भइरहेको स्थितिमा नयाँ भवन बनेपछि सहज हुनेछ' उनले भने । नयाँ भवन निर्माण सम्पन्न भएपछि हाल कार्यालय रहेको ठाउँमा बहुउद्देश्यीय भवन निर्माण गर्ने सोच राखिएको छ । त्यसका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा रु एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । 'नपुग रकम आगामी वर्ष विनियोजन गर्छौं, कच्ची भवन भत्काएर बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गर्ने गाउँपालिकाको सोच हो' प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले भने ।
गाउँपालिकाले विभिन्न वडा कार्यालयको भवन निर्माणलाई समेत तीव्रता दिएको छ । वडा नं १ र ५ को वडा कार्यालय भवनको निर्माण सम्पन्न भएको छ भने वडा नं ४ को निर्माणाधीन अवस्थामा छ । त्यस्तै वडा नं २ को भवन निर्माणका लागि जग्गा यकिन गरिएको छ भने वडा नं ६ को डिपिआर तयार भएको छ । वडा नं १ को भवन रु ७४ लाख ४२ हजार ७०० को लागतमा सम्पन्न भएको छ । वडा नं ४ को भवन रु ५२ लाख ४२ हजारमा निर्माणाधीन छ । भवनको काम ७० प्रतिशत सम्पन्न भएको छ । वडा नं ५ को भवन रु ५३ लाख ५० हजारमा निर्माण सम्पन्न भएको छ । वडा नं ६ का लागि रु ७० लाख बजेट अनुमानित गरिएको छ ।
त्यस्तै गाउँपालिकाले रु ५४ लाखको लागतमा वडा नं १ मा आधारभूत स्वास्थ्य केन्द्र, रु ५४ लाखकै लागतमा वडा नं २ मा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न गरेको छ भने वडा नं ४ मा रु ५० लाखको लागतमा आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि बोलपत्र सम्झौता गरेको छ ।
गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले सबै वडा कार्यालयलाई सुविधासम्पन्न भवन बनाउँदै जनतालाई सहजरुपमा सेवा दिने उद्देश्यमा गाउँपालिका रहेको जानकारी दिए । 'निर्माण हुन बाँकी रहेका वडा कार्यालयको भवन पनि छिट्टै शुरु गर्छौं' उनले भने ।
म्याग्देमा भवन बन्दै
तनहुँको म्याग्दे गाउँपालिकाले चालू आवमा चारवटा वडा कार्यालय भवन निर्माण गर्ने लक्ष्य राखेको छ । सोही बमोजिम वडा नं ४ र ६ को शिलान्यास भएको छ भने ३ र ७ को शिलान्यास हुन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । वडा नं १ र ५ को भवन निर्माण सम्पन्न हुने चरणमा छ । वडा नं २ को भवन भने पुरानै भवनबाट सञ्चालन भइरहेको छ ।
गाउँपालिकाले प्रमुख प्रशासकीय भवनसमेत निर्माण शुरु गरिसकेको छ । दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य राखिएको भवन रु १० करोड ३५ लाख ६९ हजार ८८४ को लागतमा निर्माण हुन लागेको हो । चालू आर्थिक वर्षमा रु ६ करोड ८५ लाख ५० हजार २५ र आगामी आर्थिक वर्षमा रु तीन करोड ५० लाख १९ हजार ८५८ को काम हुनेछ ।
चालू आवमा प्रोटेक्शन वक्र्स, जमीन मिलाउने, कालोपत्रबाहेक बाटो तयार गर्ने, नाली निर्माण तथा बायोइन्जिनीयरिङका काम हुनेछन् । आगामी वर्ष तेस्रो तल्ला भवन निर्माण, बाटो कालोपत्र र गेट तथा पार्क निर्माण गर्ने लक्ष्य राखिएको छ ।
किसान नेता एकदेव आलेको सम्झना
क्रान्तिकारी किसान नेता एकदेव आलेको ५२औँ स्मृति दिवस आज मनाइएको छ । एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा बोल्दै वक्ताहरुले एकदेव आलेको सपना पूरा गर्न कम्युनिष्ट एकजुट हुनुपर्ने बताए ।
अहिले सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी विभाजन हुने चरणमा पुगेपछि एकदेव आलेसँगै जनताको सपना पनि तुहिएको उनीहरुको भनाइ थियो ।
प्रतिष्ठानका संरक्षक एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका अध्यक्ष शङ्कर बराल, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य बलराम सुवेदी, नेकपा गण्डकी प्रदेश कमिटीका सदस्य अतिन्द्रकेशरी न्यौपाने, प्रतिष्ठानका निर्वतमान अध्यक्ष श्रीराम कार्की, जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार कृष्ण घिमिरेलगायतले किसान नेता आलेको योगदान बारे चर्चा गरे ।
यसअघि व्यास नगरपालिका–३ स्थित दुर्गा मन्दिर नजिक रहेको एकदेव आलेको स्मारकमा माल्यार्पण गरिएको थियो । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, नेकपा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ लगायतले स्वर्गीय आलेको शालिकमा माल्यार्पण गरे ।
क्रान्तिकारी किसान नेता आलेको जन्म विसं १९८० मा व्यास नगरपालिका–५ मानुङमा पिता पहलमान आले र आमा बोइमायाको आलेको कोखबाट भएको थियो । गरिब परिवारमा जन्मिएका आले बाल्यकाल मै भारतका विभिन्न शहरमा मजदुरी गर्न गएका थिए । त्यही क्रममा आले ब्रिटिस सेनामा भर्ना हुनुभएको थियो । आलेले तत्कालिन ब्रिटिस सेनामा भर्ना भई दोस्रो विश्वयुद्धमा भाग लिएका थिए ।
दोस्रो विश्वयुद्धको क्रममा ब्रिटिस सेनाको पक्षमा लड्नुभएका आलेपछि भारतको स्वतन्त्रता सङ्ग्राममा सुभाषचन्द्र बोसको आजाद हिन्द फौजमा सामेल भई भारतको स्वतन्त्रताको आन्दोलनमा सक्रिय भएका थिए । मुक्ति सेनाको कमाण्डर भएका आलेको नेतृत्वमा तनहुँको तत्कालीन सदरमुकाम बन्दिपुर वीरगञ्ज र भैरहवा कब्जा भएको थियो ।
विसं २००८ मा डा.के आइ सिंको नेतृत्वमा सिंह दरबार कब्जा गर्ने टोलीको सदस्य समेत आले थिए । विसं २००७ मा राणा शासन अन्त्य गर्ने क्रममा भारत, कांग्रेस र राणाबीच भएको त्रिपक्षीय सम्झौता (जसलाई दिल्ली सम्झौता समेत भनिन्छ), लाई धोका हो भन्दै पुष्पलाल श्रेष्ठले कम्युनिष्ट पार्टी गठन गरेपछि एकदेव आले कम्युनिष्ट बनेका थिए । रासस