अमेरिकामा रहेका कथित अभियन्ताको ‘फ्रेन्ड रिक्वेस्ट’ जब मेरो फेसबुकमा आउनथाल्छ, मलाई एनआरएन (गैरआवासीय नेपाली संघ) र जोशी थरका एक मान्यबरको खुब सम्झना आउँछ।
करिब तीन बर्षअघि मैले उनलाई एनआरएनको सदस्य लिएको छैन मात्र के भनेको थिए, उनले मलाई तुरुन्तै अनफ्रेण्ड गरे। उनलाई मभन्दा पनि केवल भोटसँगको सम्बन्ध आवश्यक रहेछ। जब उनले मबाट आफ्नो आवश्यकता पुरा नहुने देखे सम्पर्क नै बन्द गरे। उनीसँग सम्पर्क गर्न नपाएर म अर्धमृत अवस्थामा पुगेको त् होइन तर मान्छेले कति छिटो आफ्नो रङ्ग फेर्न सक्छ, यो गतिलो उदाहरण हो।
अमेरिकामा बिभिन्न तह र तप्काका संघ–संगठन छन्। उनीहरुको बिभिन्न खाले गतिबिधि तस्वीरसहितका समाचार च्याउ उम्रे जस्ता अनलाइन पोर्टलमा देख्न पाइन्छ। तस्वीरमा उक्त संघ–संगठनका पदाधिकारी खादा, माला र अबिरले भरिभराउ भएर गज्जक परेर बसेका हुन्छन्। उनीहरु के कस्ता उपलब्धी हासिल गरेर त्यो अवस्थामा पुगेका हुन्, त्यो पंक्तिकारलाई जानकारी हुने विषय भएन। तर अधिकांश संघ–संगठनका कार्यसमिति सदस्य र साधारण सदस्य उही हुन्छन्, अझै कुनै कुनै संघ संघठनमा त् कार्यसमिति सदस्यसम्म पुर्याउन पनि धौ धौ हुन्छ।
नेवारी भाषामा एउटा कथन छ–‘माक्क फुँइ’ अर्थात् बाँदरको जस्तो फुर्ति। दिनभरी बिना अर्थ यताउति उफ्रिने र दौडिने बाँदरको पानी पर्यो भने ओत लाग्ने कुनै ठाउँ हुँदैन, जबकी एउटा कमिला जस्तो सानो प्राणीको पनि घर हुन्छ। यता भएका संघ–संगठन लगभग सबै यस्तै ‘माक्क फुँइ’ मात्र हो। यस्ता संघ–संगठन भनेर दौडधुप गर्ने धेरै मान्यबरको आफ्नै बस्ने खाने ठेगान छैन, जब आफ्नै अवस्था दयनीय छ भने उसले के सोच्ला र! के जनहितकारी काम गर्ला? प्रबुद्ध पाठक बर्गले आफै मनन् गर्नुहोला।
सबैभन्दा ‘ग्ल्यामर्स’ संस्था हो, एनआरएन। हरेक बर्ष दशैंको ठिक अगाडी ठूलो तामझामका साथ साधारण सभा गर्ने यो संस्थाले आजसम्म कति डलर, पाउण्ड, युरो वा यान भित्रायो, त्यसको ठ्याक्कै जानकारी पंक्तिकारलाई छैन। तर एक–दुई वटा समुह बाहेक अरु कसैले खासै लगानी भित्र्याएको जस्तो लाग्दैन।
दु:खका साथ भन्नुपर्दा एनआरएन कै हस्तीले लगानी गरेको एउटा संचार माध्यममा त्यहाँका पत्रकार र कर्मचारीलाई महिनौंदेखि तलब नदिएर बिच्चल्ली पारिएको छ। अब पाठक बर्गले आफै अनुमान लगाउन सक्नुहुन्छ कि यस्ता मान्छेले के र कस्तो लगानी ल्याएर देश विकासमा टेवा पुर्याउलान्?
उसै पनि अमेरिकामा जसले आफूलाई ब्यापारी र धनाढ्य दाबी गर्छन, अधिकांश अमेरिकी सरकारले तोकेको न्युनतम ज्यालामा काम गर्छन, उनीहरु नेपाल जस्तो अविकसित, गरिब र निरपेक्ष गरिबीको रेखामुनि रहेको देशका बासिन्दाका अगाडी मात्र धनि हुन। यहाँका अन्य समुदायको अगाडी कुनै क्षेत्रमा पनि अब्बल आउने हैसियत नेपालीहरुको छैन। यहाँ मैले समुदायको कुरा गरेको हुँ, व्यक्तिगत रुपमा केहीले राम्रो प्रगति गरेका छन् तर त्यी निकै थोरै छन्।
यस्तै अमेरिकामा अर्को संस्था छ. नेपाली कांग्रेससँग सम्बद्द नेपाली जनसम्पर्क समिति र कम्युनिस्ट पार्टीसँग सम्बद्द प्रवासी नेपाली मञ्च। अरु भुरे टाकुरे पार्टी सम्बद्द संघ–संगठन पनि छन् तर त्यी संस्थाहरु गठन हुने र तस्वीर खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने काममा मात्र सिमित भए।
पहिलो कुरा अमेरिकामा नेपाली राजनीति गर्ने कुरा नै हास्यास्पद लाग्छ। अर्को कुरा अमेरिकामा नेपालको राजनीति गरेर के कस्तो प्रतिफल पाइने हो? त्यो सायदै कसैलाई जानकारी होला।
तर, यस्तो गतिबिधि गर्ने काम यताको परिचय लुकाउन गरिएको असफल प्रयास मात्र हो। यहाँ जो कोहि अध्यक्ष वा सचिव भए पनि यसले खासै अर्थ राख्दैन, केवल आत्मरती मात्र हो। अमेरिका प्रजातान्त्रिक देश भएको कारण प्रजातन्त्रमा विश्वास राख्नेहरुले गरेको गतिबिधि केही हदसम्म जायज पनि होला तर कम्युनिस्टको ‘क’ पनि सुन्न नचाहने र अमेरिका आउने समयमा भिसाको फारम भर्दा ‘म कम्युनिस्ट पार्टीको सदस्य छैन’ र ‘म र मेरो परिवारले आजसम्म कम्युनिस्ट पार्टीलाई चन्दा दिएको छैन’ भनेर टिक लगाउनेहरुले यहाँ म कम्युनिस्ट हो भनेको सुन्दा छक्क लाग्छ।
अमेरिका बसेर कसैले म कम्युनिस्ट हुँ भनेर भन्छ भने त्यो आत्मद्रोह मात्र हो। यसै प्रसंगमा जनसम्पर्क समितिले नेपालमा गएको महाभुकम्पको लागि उठाइएको चन्दामा ब्यापक घोटाला भएको समाचार आएको थियो। त्यो प्रकरण किन त्यसै सेलायो, त्यो धेरैलाई जानकारी भएन तर चन्दा उठाउन दौडधुप गर्नेको जीवनस्तरमा आएको परिवर्तनले दालमा कालो मात्र होइन पुरै दाल कालो भएको अनुमान गर्न सकिन्छ।
यसैगरी बिभिन्न जातीय, क्षेत्रीय र नेपालका प्राय: सबै जिल्ला सम्बद्द समाजहरु जातको आधारमा यो र उ जात भनेर छुट्टाउनु गैरकानुनी हुने देशमा के कस्ता अभिप्रायले यस्ता संस्थाहरु खुलेका हुन्, त्यो पंक्तिकारलाई थाहा भएन।
तर पंक्तिकारको जात क्षेत्रीहरुको संस्था भएको जस्तो लाग्दैन र यदी छ भने पनि त्यसमा कुनै रुचि छैन। यस्तै प्राय: हरेक जिल्लाको नाम जोडिएको समाजहरुको पनि कुरा सुन्न पाइन्छ तर पंक्तिकार जस्तो केवल काठमाडौँमा मात्र सानो छाप्रो भएको ब्यक्तिको लागि यहाँ कुनै काठमाडौँ, भक्तपुर र ललितपुर समाज पनि छ भन्ने जानकारी छैन। यसैले यी तीन जिल्ला सम्बद्द मान्छेहरुको कुनै संघ–संगठन छैन। उनीहरु संगठित पनि छैनन्। यसैगरि हरेक विकास क्षेत्रको नाममा संगठन पनि खुलेका छन् र समयसमयमा उनीहरुको अर्थहीन गतिबिधिहरुको चर्चा सुन्न पाइन्छ।
यस्तै कलाकार र गायकहरुको पनि बिभिन्न खाले संस्था छन्। बैधअबैध बाटोबाट अमेरिका आएर जिविका गरिरहेका उनीहरु आफूलाई विशुद्ध कलाकार मान्छन्। नेपालमा बस्दा कलाकारिता गरेर खान पुग्दैन भन्नेहरु यहाँ भने मैले गीत गाएरै वा अभिनय गरेर मात्र बाँचेको छु भन्ने खोक्रो दाबी गर्छन। उनीहरुको कला यहाँ पनि नेपालीले मात्र हेर्ने र सुन्ने हो र उनीहरुको कति बजार होला त्यो आफै अनुमान लगाउन सक्नुहुन्छ।
यसका साथै आफूलाई पत्रकार दाबी गर्नेको पनि संघ छ। नेपाल छँदा पत्रकारिता गरेका तर यहाँको परिचय लुकाउन चाहनेले यता पनि पत्रकारिता गरेर मात्र जिविका चलेको दाबी गर्छन, जो सत प्रतिसत झुटो छ। नेपालमा सक्रिय पत्रकारिता गर्दा महिनौंसम्म तलब नपाएर हैरान भएका पंक्तिकारका कतिपय सहकर्मीले पनि आफूलाई पूर्णकालीन पत्रकार दाबी गरेको देख्दा अच्चम पर्नुबाहेक अर्को कुनै उपाय छैन।
यहाँ जसले विभिन्न संघ वा संगठनको, जुन हैसियतवाला पदाधिकारी हुँ भन्ने दाबी गर्छन उनीहरुलाई चिन्ने नेपालीमूल कै मान्छे मात्र हुन। त्यसमा पनि उच्च पदको काम र सम्पन्न ब्यक्तिहरु यस्ता कुरामा अल्मल्लिएको मैले देखेको छैन। त्यसैले यस्ता पदवी भएका मान्छेहरुको अमेरिकी सरकारको दृष्टिमा कुनै हैसियत छैन, यो केवल आत्मरति मात्र हो। दुर्भाग्यवस यस्ता संघ र संगठनलाई बेला बेलामा बिभिन्न कार्यक्रमको नाममा मानव तस्करी गरेको गम्भीर आरोप पनि लाग्ने गरेको छ। यदी यस्ता आरोप झुटा हुन् भने राम्रै हो। तर सत्य हो भने त्योभन्दा ठूलो दुर्भाग्य अर्को के हुन्छ र ?
अन्त्यमा उच्च शिक्षितबर्गहरु डाक्टर, इन्जिनियर, वकिल, प्रोफेसरको काम गरिरहेका नेपालीमूलका ब्यक्तिहरुको संघ–संगठन छ कि छैन, त्यो पंक्तिकारलाई जानकारी भएन। हालसम्म यस्ता पेशेवरहरुको गतिबिधि सुन्न र उनीहरुले माला, खादा र अबिर लगाएर ठूस्स परेर बसेको तस्वीर हेर्न पाएको छुइन। यदी यस्तो प्रकारको पनि संघ–संगठन छन् भने कृपया सुचना दिनुहोला।