'ए हजुर एकपल्ट यता हेर्नुस् त, एउटा कहानी सुनाउँछु'

सेतोपाटी

काठमाडाैं

खुल्ला मञ्च र सैनिक मञ्च छुट्याउने सानो बाटोको मुखैमा पुग्दै गर्दा एउटा आवाजले मलाई बोलायो। 

'ए हजुर एकपल्ट यता फर्किएर हेर्नुस् त। म सँग थरिथरिका कहानी छन्।'

टुँडिखेललाई कहानी हुन नदिन आन्दोलन भइरहेको थियो। म त्यसमा सहभागी हुन जाँदै थिएँ। त्यसैले कहानी शब्द सुनेपछि झस्किएँ।

झस्किनुको अर्को पनि कारण थियो। भेट्छु भनेरै त भेट नहुने सहरको सबभन्दा व्यस्तमध्ये एक ठाउँमा मलाई कसैले चिने जसरी बोलाउँदै थियो। 

आवाज आएतिर फर्किएँ। आवाज कसको थियो ठम्याउन सकिनँ। सुनिरहेको बोलीजस्तो लाग्यो तर सम्झना भएन। यताउता आँखा घुमाएँ। 

नजिकै एकजना युवक अस्थायी टेबलमाथि विभिन्न खाले जुत्ता फिँजाइरहेका थिए। उनले टेबलमाथि राखेको चाइनिज रेकर्डर बोलिरहेको थियो, 'ए हजुर एकपल्ट यता फर्किएर हेर्नुस् त। यहाँ रू ३००, ४००, ५०० सम्ममा छानीछानी जुत्ता-चप्पल पाइन्छ।'

शब्दको बनोट उस्तै भए पनि मलाई अलिअगाडि बोलाउने आवाज थिएन त्यो। आफूलाई भ्रम भएजस्तो लाग्यो। हतारिएँ। हिँड्न पाइला उठाउन लाग्दै गर्दा आवाज फेरि सुनियो, 'म यता भित्रपट्टि छु। एउटा कहानी भए पनि सुन्नु न।'

आवाज दोहोरिएपछि ठाउँ ठम्याउन सजिलो भयो। तर दोहोरिएको आवाज पहिलाभन्दा फरक थियो।

प्रकाशित मिति: : 2021-01-24 17:57:00

प्रतिकृया दिनुहोस्