महिला हिंसा न्यूनीकरणको नयाँ अभियानमा एसएसपी किरण बज्राचार्य

महिला हिंसा न्युनिकरणका लागि महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख किरण बज्राचार्यले अभियानको सुरुवात गरेकी छिन्। 

उनले ललितपुर वरिपरि रहेका महिलाहरूलाई गत बुधबार आफ्नो कार्यालयमै बोलाएर महिला हिंसाको विषयमा लामो कुराकानी गरिन्। उनीसँग भेट्न ललितपुर वडा नम्बर ८ च्यासलका १५ महिला पुगेका थिए। उनीहरू यसअघि कहिल्यै प्रहरी कार्यालय पुगेका थिएनन्। 

ललितपुर प्रमुख बज्राचार्यले आफ्नो कार्यालय पुग्दा स्थानीय महिलालाई ‘जोजोलोपा’ भन्दै स्थागत गरेकी थिइन। 

उनको प्रस्तुति देखेर दंग परेका स्थानीयले भने, ‘उहाँले नै बोलाएर हामी यहाँ आएका हौं।’ उनीहरू प्रहरीको भ्यान चढेर यहाँ आएका थिए। ललितपुरमा पछिल्लो समय महिला हिंसाको घटना बढ्न थालेपछि र उजुरी पनि मनग्य आउन थालेपछि बज्राचार्यले स्थानीय महिलासँग उनीहरूको समस्या बुझ्न खोजेकी हुन्। 

‘प्रहरी तपाईहरूको दुःखको साथी हो। त्यसैले अफ्ठेरो परेको बेला निर्धक्क भएर सेवा लिन नहिच्किचाउनु होला भन्ने सन्देश दिन यहाँ बोलाएका हौं,’ बज्राचार्यले बिएल नेपाली सेवासँग भनिन्। 

बज्राचार्यले रानीपोखरीको प्रहरी वृतबाट गाडी सहयोग मागेर ती महिलालाई च्यासलबाट झिकाएकी थिइन। गाडीमा ‘लैगिंक हिंसा अन्त्य गरौ’ भन्ने सन्देशसहितको ब्यानर राखिएको थियो। ‘प्रहरीले गाउँका दिदीबहिनीलाई बोलाएर छलफल गर्दा महिलामाथि हिंसा गर्ने पुरुषको मानसिकता कमजोर हुने र ती  महिलाको आत्मबल बढ्छ। त्यसैले हामीले दिदीबहिनीलाई गाडीमै लिन पठाएर कार्यालयसम्म बोलाएका हौं,’ बज्राचार्यले बताइन्। 

स्थानीय दिदीबहिनीसँग आत्मियता बढाउदै लगे भोलिका दिन उनीहरूले आफूमाथि हुने हिंसा बाहिर ल्याउन सहयोग गर्ने उनले बताइन्। भनिन्, ‘यसैले अनौपचारिक कार्यक्रम जरुरी छ।’

स्थानीय स्तरमा पछाडि परेका महिलाले यसअघि आफूलाई समस्या परे कहाँ जाने, कसलाई भन्नेसम्म थाहा नभएको बताए। 

नेवारी समुदायको वर्चश्व रहेको च्यासलका महिला आफूजस्तै नेवारी भाषा बोल्ने एसएसपी आफ्नो अगाडी पाउँदा दंग देखिन्थे। 

उनीहरूलाई प्रहरी कन्ट्रोल रुम–१०० मा फोन गर्दा प्रहरीले कसरी रेस्पोन्स गर्छ भन्ने कुरा कन्ट्रोल रुममै लगेर देखाइएको थियो। 
क्यामराबाट घटनास्थल कसरी हेरिन्छ भन्ने प्रत्यक्ष देखाइएको थियो। ‘स्थानीय महिलाले बढी चासोका साथ सबैतिर हेर्नुभयो। यसपछि उहाँहरूलाई आज बल्ल विश्वास लाग्यो–आफूलाई अप्ठ्यारो पर्दा साच्चै प्रहरीले सहयोग गर्छ भन्ने,’ उनले भनिन्।  

सीसीटीभी निगरानी कक्ष, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको कक्ष सबै हेरिसकेपछि उनीहरु हास्दै निस्किएका थिए। अन्ततः उनीहरू वास्तवमै ‘प्रहरी हाम्रो साथी’ भन्दै बाहिरिए।

प्रकाशित मिति: : 2021-01-24 16:07:00

प्रतिकृया दिनुहोस्