यो मेरो संस्मरण हुन सक्छ । अझ धेरै खलनायकहरूको संस्मरण हुन सक्छ । अहिले जो तिनीहरूलाई सम्झनु आफैँमा एउटा रमाइलो अनुभूति हो । जिन्दगीका विभिन्न मोडहरू पार गर्दै अहिले डाँडामाथि बसेर आएका बाटाहरू, घुमाउरा कुइनेटाहरू सम्झँदा तिनको विश्वसनीयतामा आफैँलाई शंका लाग्छ । कुनै रोमान्टिक फिल्म हेरेर यसरी पनि प्रेम हुने र धोका हुने हुन सक्छ र ? भन्ने बोध हुन्छ । पहाडको एउटा सफा र कञ्चन खोलाजस्तो मेरो जिन्दगी कुनै सगरमा पुग्न अगाडिको इतिहासले कहिले कागले झैँ ठुङ्ग्छ । म सानो तन्द्राबाट बिउँझन्छु ।
त्यो सानो तन्द्रामा म कुनै पहाडमा हुन्छु । भर्खर–भर्खर बहुदलीय प्रजातन्त्र आएको छ र भर्खर–भर्खर समाप्त भएको छ । राजनीतिले विकल्पहीनताको हाँसउठ्दो अर्थबाट गोेरेटो खोज्न लागेको छ । पहाडमा, जहाँ हाडहरू मात्र छन्, एक दुईवटा काम सजिलै पाइन्छ । काम अर्थात जब् लोकल रक्सीले मात्तिएर सडक नाप्दै हिँड्नु । शनिबार कहिले आउला र हाटबजारमा गाउँबाट आएका तरुनीहरूलाई खेद्दै पछि लाग्नु । अलिकति पढेको भए बजारमा त होइन, टाढाको गाउँमा मास्टरी गर्नु । हरेक शुक्रबार बजार (घर) आउनु, शनिबार हटिया घुम्नु र आइतबार बिहानै आफ्नो स्कुल पुग्नु । अझ अर्को काम पनि छ– सके मलायाको, नसके इन्डियाको लाहुरे हुनु । फितावाललाई केही रकम ख्वाएर शरीरको उँचाइ मिलाउनु । यस्तै–यस्तै ।