बाजे वकिल जसले पञ्चायतमै बिपी, रामराजाप्रसाद सिंह र केआई सिंहको पक्षमा मुद्दा लडे

पत्रकारलाई सम्मान र संस्कार सिकाउने प्रधानमन्त्री केपी ओलीले आफूसँग असहमत हरेकलाई होच्याउने र गिज्याउने गर्दै आएका छन् । ओलीले ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई पनि अनादर गर्दै अनुयायी हँसाएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा नेपाल ल क्याम्पसका २५ वर्षीय विद्यार्थी समृत खरेलदेखि ९४ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले समेत सर्वोच्च अदालतमा बहस गरेका छन् । तर, भण्डारीलाई लक्षित गर्दै ओलीले भने, ‘एकजना बाजे वकिललाई समेत लिएर सर्वोच्च गएछन्, तमासा देखाउन ।’ स्मरणीय के छ भने भण्डारीले सर्वोच्चमा तमासा देखाउने होइन, ६३ वर्षदेखि न्यायको पैरवी गर्ने काम गर्दै आएका छन् । 

भण्डारीले बिपी कोइराला, रामराजाप्रसाद सिंह, डा. केआई सिंहका राजनीतिक मुद्दा लडेका छन् । पूर्वप्रधानन्यायाधीशहरू केदारप्रसाद गिरी, गोविन्दबहादुर श्रेष्ठलगायतलाई मात्र होइन, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र संविधानसभा अध्यक्ष सुवास नेम्वाङलगायतका वरिष्ठ अधिवक्ताहरूलाई कानुन पढाएका छन् । 

राजनीतिक दलहरू प्रतिबन्धित र भूमिगत भएका वेला भण्डारीले सर्वोच्च अदालतमा राजनीतिक स्वतन्त्रताका लागि खुलेर लडेका थिए । राजनीतिक र न्यायिक स्वतन्त्रताको लडाइँका प्रतीकलाई होच्याउन खोजेर प्रधानमन्त्रीले आफ्नै व्यक्तित्व थप खल्लो बनाएका छन् । किनकि कानुनका हरेक विद्यार्थीका लागि पनि भण्डारी जिउँदो इतिहास हुन् । 

विक्रम संवत् १९८४ जेठ २६ मा रौतहटमा जन्मिएका भण्डारीले ००७ सालको क्रान्तिअघि नै रौतहटमा राजनीतिक स्वतन्त्रता र आर्थिक शोषणविरुद्ध संघर्ष सुरु गरेका थिए । रौतहटमा जमिन्दारले बनाएका तमसुक च्यात्ने अभियान चलाएर उनले किसानलाई ऋणमुक्त बनाउने अभियान चलाएका थिए । यो क्रममा भण्डारीले आफ्ना बाबुबाजेले बनाएका दुई हजार पाँच तमसुक च्यातेका थिए । 

प्रकाशित मिति: : 2021-01-23 08:17:00

प्रतिकृया दिनुहोस्