पिलोको खिलले नै गीत ‘कोट’ गर्‍यो !

अनलाइनखबर

काठमाडौँ

चर्चित जनवादी गायक जीवन शर्माले गाएको एउटा पुरानो गीतलाई यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले चर्चामा ल्याइदिएका छन् । गीतले भनेको छ– पिलो निचोरी फ्याँक्दा वजन घटेको हुन्न !

पुसको पहिलो साता नेकपामा विभाजन आएपछि बालुवाटारमा बसेको आफ्नो समूहको केन्द्रीय कमिटी बैठकमा केपी ओलीले पहिलोचोटि गीत गुन्गुनाउने प्रयास गरे । तर, शब्दहरु प्रष्टसँग उच्चारण गर्न जानेनन् । ओलीले प्रचण्ड र माधव नेपाललाई पिलोसँग तुलना गर्ने प्रयास गर्दै भने, ‘भन्न त नहुने, भन्न नमिल्ने । नमिले पनि एउटा गीत सम्झिनुपर्‍यो । जीवन शर्माको जस्तो लाग्छ– पिलो निचोरिएर तौल कम हुँदैन कि के भन्ने एउटा गीत छ । पिलो निचोरिँदैमा तौल घटेको हुन्न कि के ।’

ओलीले दोहोर्‍याए– ‘पिलो निचोरिँदैमा वजन घटेको हुन्न । पिलो निचोरिँदैमा वजन घटेको हुन्न । पिलो निचोरिन्छ, त्यसको खिल बाहिर जान्छ । तर, वजन घट्या हुन्न खिल निक्लँदैमा ।’

एक सातापछि आयोजित अर्को कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले माइकबाट फेरि यो गीत गुन्गुनाउने प्रयास गर्दै भने, ‘जीवन शर्माले एउटा गीत गाउनुभएको छ । गीतको एउटा लाइन यस्तो छ– पिलो निचोरिँदैमा वजन घटेको हुन्न ।’ (गीतको शुद्ध वाक्यचाहिँ यस्तो हुनुपर्ने हो– पिलो निचोरी फ्याँक्दा वजन घटेको हुन्न )

प्रकाशित मिति: : 2021-01-21 18:58:00

प्रतिकृया दिनुहोस्