तीन वर्षअघि युटुब हेरेर निर्माण गरेको प्याराग्लाइडिङको परिक्षण उडान सफल बनाएका जुम्लाका टक्कबहादुरले यस वर्ष नेपाल सरकारले प्रदान गर्ने राष्ट्रिय प्रतिभा पुरस्कार पाए।
बिएल नेपाली सेवाले 'कर्णालीका कथित दलितहरुको कहर' श्रृङ्खलामा निकै आशावादी पात्रको रुपमा प्रस्तुत गरिएका उनलाई भेट्न हामी उनको घर तातोपानी गाउँपालिकाको ऐरेनीमा पुगेका थियौँ। उनी पेट्रोलबाट चल्ने हाते ट्याक्टर मर्मत गर्ने काम आफ्ना भाइलाई सिकाउँदै थिए।
सरकारले प्रदान गरेको पुरस्कार स्वरुप एक लाख रुपैयाँ र प्रमाणपत्र पाएका उनी खासै खुसी थिएनन् बरु निराश थिए। उनले नेट इन्टरनेटका माध्यमबाट नयाँ अनुसन्धान गर्न 'कर्णाली एयर डाईनामिक रिसर्च क्लब एण्ड एड्भेन्च्रस ग्रुप' खोलेका छन्। जसबाट नेपालकै सर्वसुलभ, सस्तो एडभान्स सेफ्टी ग्लाडर उत्पादन गर्ने र व्यवसायीक रुपमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षीत गर्ने लक्ष्य राखेका उनको पहिलो गासमै ढुंगा लागेको छ।
प्याराग्लाइडिङलाई साहसिक पर्यटनको रुपमा विकास गर्ने योजना सहित अनुसन्धानमा लागेर सफलता हासिल गर्दा उनले सोचेका थिए, 'यसले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने छ। आम्दानी सोचेजस्तो हुनेछ र जीवन यस्तै रचनात्मक गतिविधि गर्दै बित्नेछ।'
तर, परिस्थिति उनले सोचेजस्तो भएन। उनलाई नागरिक उड्यन मन्त्रालय र प्राधिकरणले उडान अनुमति दिएन। 'एक त हामीले उडानको लागि छनौट गरेको क्षेत्रमा हवाई रुट पर्यो । त्यसमाथि मन्त्रालय र उड्डयन प्राधिकरणका मान्छे अनुगमन गर्नलाई पटकपटक आउने रहेछन्,' उनले भने, 'यसले लाखौँ खर्च हुने रहेछ। हाम्रो क्षमता भन्दा परको कुरा हुन गएपछि बनाएका सबै सामान र सपनालाई मुटुमाथि ढुंगा राखेर थिचेको छु।'
त्यसबेला प्याराग्लाईडिङ निर्माण गर्न १५ लाख ऋण लागेको थियो। गाउँपालिका र वडा मिलेर आधा ऋण तिरिदिए। बाँकी रहेको ऋणमा थपेर उडान अनुमति लिन उनलाई चिन्ता लाग्यो। 'त्यही बेला धन्न गाउँपालिका र वडाले ऋण तिरिदिए र सजिलो भयो । नत्र त म उस्किनै (उक्मिनै) नसक्ने रहेछु।'
त्यसयता उनी बिग्रिएका इलेक्ट्रोनिक सामानको उपचार गरिरहेका छन्। जिल्लाभर निर्माण भएका साना जलविद्युत आयोजना, जेनेरेटर लगायत सामग्रीहरुको उपचार गर्नुपरेका जिल्ला भित्रका एकजना उनी मात्र हुन् तर कहिलेकाहीँ उनी 'नजिकको तीर्थ हेलाँ' जस्ता वास्ता नगरिएका पात्र बन्न पुगे।
एक पल्टको तीतो अनुभव यसरी सुनाए। 'मैले हालसम्म सजिलै बनाएको माइक्रो हाइड्रो हो। तीस किलोवाटसम्मका मेसिन म सजिलै बनाउँछु। एकपल्ट सय किलोवाटको मेसिन बिग्रेको मन्त्री नरेश भण्डारीको गाउँको विद्युत बनाउँन जाँदा त्यहाँका केही युवाहरुले मुख फोडेरै भने। जिल्ला बाहिरका मिस्री ल्याए पो विश्वास।' उनले दुई दिन पूरै लगाएर बनाए।
भोलिपल्ट बिजुली बन्यो। अघिल्लो दिन उनलाई संकेत गरेका बोल्ने केटाहरु त्यहाँ थिएनन्। गाउँपालिकाले उनलाई १४ हजार दिएर पठायो। उनलाई जुन कामले सन्तुष्टि दिनेवाला थियो, त्यसलाई उनले स्थागित गरेका छन्।
त्यसकै विकासमा समय खर्च गरौँला भन्ने सोचेका उनले थपे, 'आजकाल जीवन धान्ने कामतिर लागेको छु। अब यस्तै गरी दिन जाने त होलान्।'
हाल उनले गरिरहेको काम पनि कम्ति चुनौतीपूर्ण छैन। त्यसका लागि उनले कुनै मान्यताप्राप्त संस्थाबाट तालिम लिएका होइनन्। उनीसँग कुनै संस्थाको प्रमाणपत्र पनि छैन तर नागरिकमा एक खाले विश्वास छ, 'ठूला इलेक्ट्रोनिक सामान विग्रिए भने टक्क बहादुरले बनाउँछन्।' उनको सीपलाई विकास गराउने विश्वविद्यालय यु–टुब हो। उनले आफूलाई चाहिने हरेक सीपको लागि यु–टुबको साहारा लिने गरेका छन्।
प्याराग्लाइडिङ पनि यु–टुबकै उपलब्धि थियो। सुरुमा दुर्गा मावि लाम्राको नेट चलाउने उनी राम्रो नेटका लागि नेपालगन्जसम्म पुगेको बताउँछन्। नेपालगन्जमा इन्टरनेट राम्रो चल्ने भएकोले प्याराग्लाइडिङका बारेमा सबै जानकारी हासिल गर्न सफल भए। 'यु–टुबभित्र संसार अटेको रहेछ। हिजो पनि मेरो क्षिक्षक त्यही थियो। आज पनि त्यही छ। नत्र घरको आर्थिक अवस्था कमजोर भएको म जस्तो किसानको छाराले महंगो शुल्क लाग्ने प्राविधिक शिक्षा कसरी हासिल गर्न सक्थे हुँला र ? सबै शुल्क नलाग्ने हुँदा पनि कापी, कलम जुटाउने नसक्ने कारण स्कुल छोडेको मेरोलागि ओैपचारिक शिक्षा त आकाशको फल नै थियो।'
१४ वर्षको उमेरदेखि नै 'टेक्निकल' काममा रुचि थियो । केहि नयाँ वस्तु देखेपछि सबै अवस्था विश्लेषण गर्ने र घरमा पुगेर त्यस्तै बनाउन लाग्ने जोस चलिहाल्थ्यो। १५ वर्षको उमेरमा खेलौनाको रुपमा हवाइजहाज र र हेलिकप्टर बनाएर प्रदर्शन गरेका थिए। जिल्ला शिक्षा कर्यालय जुम्लाले गर्ने विज्ञान प्रदर्शनीमा मेला लगाउँदा उनी प्रथम हुन्थे।
'कर्णाली क्षेत्रलाई चिनाउने आधार पर्यटन हो। त्यसमा साहासिक पर्यटन पुरक बन्नेछ। तर यसमा सरकारको लगानी प्रर्याप्त चाहिन्छ। मैले आफ्नो खल्ती छामेर भविष्यलाई थिचेर राखेको छु,' उनले भने, 'लागानी भयन र सरकार सकारात्मक भैदिएन भने म ओइलाउनुबाहेक विकल्प छैन।'