वास्तवमा यो अचम्मलाग्दो अवस्था हो। शान्ति, लोकतन्त्र, न्याय, समानता, समावेशिता र स्वतन्त्रताका लागि आवाज उठाउने नागरिक समाज आज हातमा सेतो मशाल लिएर चौबाटोमा उभिएको छ; जसमा रक्तरञ्जित तेल हालेर सलाई कोर्न तम्तयार भएका छन् हिजोका युद्ध नाइके पुष्पकमल दाहाल ‘प्रचण्ड’।
एकातिर संविधानले विशेषाधिकार नदिएको अवस्थामा पनि परिस्थितिलाई बाध्यात्मक मान्दै संसद् विघटन गरेका प्रधानमन्त्री केपी ओली छन् भने अर्कातिर प्रचण्ड छन्; जसले आफ्नै दलभित्र स्पष्टीकरणको मौका नदिई प्रधानमन्त्रीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता गर्नका लागि छापामार शैलीमा रातारात तयारी गरेका थिए। अहिले नेपालको राजनीति यिनै दुई नेताहरूका जुँगा लडाइँमा ध्रुवीकृत भएजस्तो देखिएको भए पनि आधारभूत रूपमा यो दुई प्रवृत्तिका बीचको लडाइँ होस् सिद्धान्ततः यो लोकतान्त्रिक संस्कारमा विचलन र लोकतन्त्रलाई नसुहाउँदो चरित्रले निम्त्याएको विघटन हो।
परिस्थिति यसरी सिर्जना भएको छ कि चाहेर वा नचाहेर जुनसुकै अडान लिँदा पनि यी दुई नेतामध्ये एकको पक्ष लिएको देखिन आउनेछ। सोच्ने हो भने यो टिप्पणी गर्नका लागि अप्ठेरो अवस्था हो र यसबाट उम्कने सजिलो जुक्ति प्राविधिक तथ्यमा आधारित ‘पोलिटिकली करेक्ट’ अडान नै हुन आउँछ। तर राजनीतिका चतुर खेलाडी प्रचण्डले स्वतन्त्र नागरिक अगुवाहरूको यही कमजोरी र मिडिया प्रभाव प्रयोग गरेर लोकतन्त्रको आदर्शकै आधारभूत मर्मविपरीत जनमत निर्माण गर्ने प्रयास गर्दैछन्। अनुभवी पेसाकर्मी तथा नागरिक अगुवा पनि यस जालमा फस्दा सार्वजनिक विमर्श नै एकपक्षीय भएर गलत राजनीतिक प्रवृत्तिले सामाजिक वैधता पाउने खतरा उत्पन्न भएको छ।