जनताको ढाड भाँच्ने गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर: नेविसंघ

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा बढेको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले मंगलबार विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्।

‘जनताको ढाड भाँच्ने गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन ओली सरकारलाई चेतावनी दिन चाहन्छु,’ उनले भनेका छन्।

साेमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएकाे छ।

बढेको मूल्यसँगै पेट्रोलको नयाँ भाउ प्रतिलिटरमा ११० रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य ९३ रुपैया कायम भएको छ। खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको छ।

तर नेपाल आयल निगमले भने भारतबाटै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकोले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थमा मूल्य बढाइएको बताएको छ।

भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसार बढेको भाउ प्राप्त भएकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ। बढेको मूल्यअनुसार पेट्रोलमा ७.६१ पैसा, डिजेलमा ६.३९ पैसा, मटीतेलमा ६.४ पैसा प्रतिलिटर घाटा छ।

यस्तै हवाई इन्धनमा ६.९० पैसा तथा खाना पकाउने ग्याँसमा १९.०६ पैसा नोक्सानी थियो। पछिल्लो मूल्य बृद्धिपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३४ पैसा, डिजेलमा २ रुपैयाँ ९६ पैसा तथा खाना पकाउने ग्याँसमा १३४ रुपैयाँ ७२ पैसा घाटा रहेको निगमले जनाएकाे छ।

मूल्य नबढाउँदा १५ दिनमा निगमलाई ६७ करोड ५५ लाख घाटा रहेकोमा अब ४९ करोड ८८ लाखमा झरेको निगमको दाबी छ। निगमको घाटा मूल्यस्थिरिकरण कोष तथा निगमको संचित नाफामार्फत समायोजन गर्ने निगमले जनाएको छ।

प्रकाशित मिति: : 2021-01-19 14:29:00

प्रतिकृया दिनुहोस्