रसुवागढी, माघ ४ : प्रधानमन्त्री नियुक्त हुनुअघि केपी ओलीले २०७४ पुस ४ गते रसुवागढी नाका अवलोकनपछि ठ्याक्कै २८ सय मिटर वर टिमुरेमा आयोजित सभामा भनेका थिए, ‘केही वर्षमै यहींबाट चीनको रेल आउँछ।’ त्यसको तीन वर्षपछि २६ पुसमा रसुवागढी नाका पुग्दा दुवैतर्फका पहाडबाट यत्रतत्र खसेका पहिरोका डोब देखिन्थे।
प्रधानमन्त्री ओलीले भनेजस्तो चिनियाँ रेलमार्ग तत्काल जोडिने कुनै दसी–प्रमाण सीमामा भेटिएन। हुन त, चीनले आफ्नो भूमिमा निर्माण गर्ने रेलमार्ग नेपाली पक्षको वशको विषय पनि होइन। बरु, राम्रो आकार लिइसकेको द्विपक्षीय व्यापारलाई मितेरी पुलमा कोभिड–१९ को बहानामा लगाइएका भोटेताल्चाले गिज्याइरहेका छन्। ती भोटेताल्चा खोलेर द्विपक्षीय व्यापार पुरानै लयमा फर्काउने यथेष्ट प्रयास नेपाली पक्षले गर्न नसकेको स्पष्ट चित्र दिन्छ, रसुवागढी नाकामा देखिने गतिविधिले।
नेपाली समयअनुसार बिहान आठ बज्दा नबज्दै चीनतर्फबाट पाँचवटा ट्रक मितेरी पुल हुँदै नेपाली भूमिमा भित्रिन्छन्। एकदेखि आठ अंकसम्म कोरिएको ठाउँमा लहरै ट्रक तेस्र्याएर पीपीई लगाएका चिनियाँ यातायात कर्मचारी मितेरी पुल पारि पुग्छन्। पुलका दुईवटा गेटमा भोटेताल्चा मारिन्छ। अनि मात्र नेपाली यातायात कर्मचारी र कामदार पीपीई लगाएरै ट्रकमा जान पाउँछन्।
चिनियाँ ट्रकमा आएका सामान नेपाली नम्बर प्लेटका ट्रकमा लोड गरिन्छ। नेपाली ट्रक र कामदार त्यहाँबाट हिँडिसकेपछि चिनियाँ यातायात कर्मचारी आउँछन्। पाँचवटै ट्रकलाई ‘डिस्इन्फेक्ट’ गर्छन् र सीमापारि लैजान्छन्। अनि मितेरी पुलमा फेरि भोटेताल्चा मारिन्छ। त्यसपछि दिनभर सुनसान रहन्छ, नाका।