फूलमान तामाङ-
केही वर्ष अघिसम्म पुस माघ महिनामा इन्द्रावती गाउँपालिकाका अधिकांश घरको आँगन वा बारीमा गुन्द्रीका तान तन्किएका हुन्थे। ती तानमा हतासोले 'झ्याकझ्याक' गर्दै गुन्द्री कसिरहेका भेटिन्थे कोही न कोही।
हिजोआज भने गुन्द्री बुन्ने चलन फाट्टफूट्टमात्र भेटिन्छन्। बाबियोको डोरीको तानमा पराल मिलाएर हालेपछि केही दिनमै तयार हुने गुन्द्री अहिले कमैमात्रमा पाइन्छ। अचेल बाबियोको ठाउँमा प्लास्टिकका डोरी प्रयोग हुन थालेका छन्।
प्लास्टिककै डोरी प्रयोग गरी गुन्द्री बुन्दै थिइन् वडा ४ स्थित होखोरकी पातली तामाङ। उमेरले ७३ वर्ष पुगिन्। तैपनि उनी गुन्द्री बुन्न सक्रिय छिन्। गुन्द्री गुणिलो हुने भएकोले आफूलाई नभई नहुने बताउँदै थिइन् उनी। 'गुन्द्रीले धेरै न्यानो बनाउँछ। पहिले हामी सुत्ने यही ओछ्याएर हो,' उनी भन्छिन्, 'अहिले पनि यो नओछ्याई निन्द्रै लाग्दैन।'