कालापानी–लिम्पियाधुरा सीमा विवादबारे वार्ता गर्न भारत अनिच्छुक

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तीनदिने भारत भ्रमण औपचारिकतामै टुंगिएको छ । शुक्रबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठक दुई देशका नियमित एजेन्डामा मात्रै केन्द्रित भयो, बैठकमा भारतीय पक्षबाट बहुचर्चित कालापानी–लिम्पियाधुरा सीमा विवादमा उपयुक्त संयन्त्रमा छलफल गर्दै जाने पुरानै प्रतिबद्धता मात्रै दोहोरियो । उच्च राजनीतिक तहमा हुने भनिएको परराष्ट्रमन्त्री ज्ञवालीको भेटवार्ता पनि रक्षामन्त्री राजनाथ सिंहसँगको शिष्टाचार वार्तामा सीमित भयो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने प्रयास शनिबार अपराह्नसम्म असफल भएपछि परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फर्केका छन् । उनले मोदीसँग भेटवार्ताका लागि कूटनीतिक, राजनीतिक र सैन्य च्यानलमार्फत प्रयास गरेका थिए, तर सफल भएनन् । दुई महिनाअघि नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव हर्षवर्धन शृंगला, सेनाध्यक्ष मनोजमुकुन्द नरभणेदेखि ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले भने प्रधानमन्त्रीसँग भेटको सहज अवसर पाएका थिए । 

बिहीबार बिहान भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतलाई भेटेर पनि प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री ज्ञवालीको भेट गराउन प्रयास गरेका थिए, तर सम्भव भएन । परराष्ट्रमन्त्री ज्ञवालीले मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गर्न पाएनन् ।

नेपाली दूतावास स्रोतका अनुसार भारतीय पक्षले मोदीसँग ज्ञवालीको भेटवार्ता हुने संकेत दिँदै आएको थियो, तर समय टुंगो लागेको थिएन । विदेश मन्त्रालयले शुक्रबार अपराह्नदेखि शनिबार अपराह्नसम्म कुनै पनि वेला भेटका लागि खबर आउने बताएकाले परराष्ट्रमन्त्री ज्ञवालीले त्यहीअनुसार तयारी गरेका थिए । मोदीसँग भेट सम्भव नभएपछि उनले शनिबार भाजपाका पूर्वअध्यक्षसमेत रहेका रक्षामन्त्री राजनाथ सिंहसँग शिष्टाचार वार्ता गरेका छन् । उनले सिंहमार्फत प्रधानमन्त्री केपी ओलीको सन्देश सुनाएका थिए । 

स्रोतका अनुसार ज्ञवालीले संसद् विघटनपछिको अवस्था तथा वैशाखका लागि तोकिएको निर्वाचनमा सहयोग र समर्थनका लागि आग्रह गरिएको प्रधानमन्त्री ओलीको सन्देश मोदीलाई सुनाउने तयारी गरेका थिए । ज्ञवालीले सार्वजनिक रूपमा पनि भारतका शीर्ष नेतासँग भेटेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको सन्देश सुनाउने बताएका थिए । 

प्रकाशित मिति: : 2021-01-17 07:36:00

प्रतिकृया दिनुहोस्