बैशाखको निर्वाचनमा जुट्न कांग्रेस नेताको आग्रह

नेपाली कांग्रेसले शनिवार देशका ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन तथा सभा सम्पन्न गरेको छ।

सभालाई सम्बोधन गर्दै कतिपय नेताहरुले बैशाखको निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन्। 

रोल्पाको लुङ्ग्री गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै पूर्व राज्यमन्त्री सुरेन्द्र हमालले संसद् विघटन गर्नु असंवैधानिक भए तापनि चुनावमा भने कांग्रेस सहभागि हुने बताए। 

‘संविधानको रक्षाका निम्ती कांग्रेसले सांकेतिक विरोध गरेको हो’ कांग्रेस रोल्पाका संस्थापक नेता समेत रहेका हमालले भने ‘तर यो निर्वाचनको तयारी स्वरुपको भेला पनि हो।’

स्थानीय निर्वाचनमा कांग्रेसले विजयी हाशिल गरेको लुङ्ग्री गाउँपालिकाको सभालाई सम्बोधन गर्ने क्रममा उनले कुनै समय कांग्रेस किल्ला रहेको रोल्पा अहिले बाम किल्लाको रुपमा चिनिनु दुःखद् भएको भन्दै फेरी कांग्रेस किल्ला बनाउन सबै लाग्नुपर्ने धारणा राखे।

‘कम्युनिष्टहरुले ठूला सपना देखाउने तर काम केहि नगर्ने भएकाले अब जनता सचेत हुनुपर्छ’ हमाले भने ‘अब कांग्रेसलाई बहुमत सहितको सरकार बनाउने सुनौलो अवसर फेरी आएको छ।’

प्रकाशित मिति: : 2021-01-16 19:20:00

प्रतिकृया दिनुहोस्