काठमाडौं– छेउमै पातुखोला गड्गडाउँदै बग्छ । वर्षायाम शुरू भो कि कतिबेला खोलामा परिएला भन्ने पिरलो । स्वर्णिमकुमार बाँठा त्यही खोलाकिनारमा बसेर विगत सम्झन्छन् र अहिलेको आफ्नै जीवनसँग दाँज्छन् । कुनै बेला छातीमा गोली थाप्न तयार हुने उनको ज्यान अहिले पानी पर्दा डराउँछ ।
यसको कारण छ, माओवादीको दशक लामो हिंसात्मक विद्रोहको भुक्तमान व्यहोरेका पात्र हुन् उनी । घर, परिवार सबथोक छाडेर होमिएका बाँठासँग विद्रोह समाप्तिपछि आफ्नो भन्ने केही बाँकी रहेन । युद्ध सकिंदा नसकिंदै नेताहरू शहर छिरेर ठूल्ठूला पदमा पुगिसकेका थिए । तर उनीसँग न साथीभाइ थिए न आफन्त ।
शान्ति प्रक्रियाका नाममा ६ वर्ष क्यान्टोन्मेन्ट (लडाकू शिविर) मा बसे । त्यहाँबाट बाहिरिंदा बुझेको रु.५ लाख र त्यसमा श्रीमतीको रु.५ लाखसमेत थपेर पातुखोला किनारमा घडेरी किने । ऐलानी जग्गा भएकोले धनीमा उनको नाम हुँदैनथ्यो । त्यही जग्गामा एकतलाको घर बनाए । त्यसैले अहिले पनि जब पातुखोला गड्गडाउँछ, उनको मनमा जिन्दगीले त्यसैत्यसै ढ्यांग्रो ठोक्न थाल्छ ।
बाँठाको खास घर रुकुमको त्रिवेणी गाउँपालिका–४, खारा–खुम्चेरी हो । खारा राज्य–माओवादी युद्धताका संसारभर चर्चामा आएको गाउँ । युद्धकालमा दुईपटक सैनिक ब्यारेकमा आक्रमण भएको, एक प्रहरी जवानको हत्या भएको बदलामा प्रहरीले गाउँ नै जलाइदिएको ठाउँ ।
त्यहीं हुर्के बढेका बाँठामा देश बदल्ने सपना पलायो । गाउँमा देखे भोगेको शोषण र थिचोमिचो अन्त्य गर्ने सपना पूरा गर्न उनले बन्दूक बोके र घर छाडे । ‘जिते सिंगो संसार, मरे एउटा प्राणी’ भन्दै युद्धमा होमिएका उनले ‘न संसार जिते’ ‘न ज्यान नै गुमाए ।’ एउटा खुट्टा गुमाएर उभिन अर्काको सहारा खोज्नुपर्ने उनीसँग अहिले संसार जित्ने सपना बाँकी छैन । अब त बाँकी जीवन कसरी जिउने भन्ने पिरलो मात्रै छ ।
‘घर फर्कन मन मानेन’
१९ फागुन २०६० मा माओवादीले भोजपुरस्थित नेपाल टेलिकमको रिपिटर टावरमा आक्रमण गरे । उक्त भिडन्तमा बाँठाको बाँया खुट्टामा गोली लाग्यो । गोलीले खुट्टा यति छियाछिया पारेको थियो कि खुट्टा नै काट्नुप¥यो । ‘त्यतिबेला मर्न रहर गथ्र्यौं, अग्रमोर्चामा लड्न नपाउँदा तड्पिन्थ्यौं’, बाँठाले २०७७ पुसको एउटा चिसो दिनमा मनै चिसो पार्ने गरी भने, ‘नेताहरूलाई सत्ता मिल्यो, हाम्रो चाहिं बिजोग भयो ।’