हरेक वर्ष माघ १ गते शिवसताक्षीको माईधार र कन्काई नगरपालिकाको कोटीहोम क्षेत्रमा भव्य मेला लाग्ने गरेको छ। पुर्वाञ्चलमै ठुलो मानिने माईमेला ३ दिनसम्म चल्ने गर्छ। तर यसपटक भने कोरोना महामारीको कारण मानिसहरुको चहलपहल पहिलाको साल भन्दा निकै कम थियो।
परापूर्वकालदेखि झापा जिल्लाको माई खोलामा भव्य रुपमा लाग्दै आएको मेला इतिहासमा पहिलोपटक यो वर्ष कोरोना महामारीका कारण त्यति रौनक देखिएन। माओवादी द्धन्द्धकालमा समेत निरन्तर लागेको मेला यसपल्ट कोरोना कै कारण रोकिएको हो। तर भक्तजनहरु भने माईखोलामा पूजा गर्न भेला भएका थिए।
‘सधैँ लाखौँ भक्तजनहरुको घुइचो लाग्ने मेला यसपल्ट चहलपहल निकै कम छ। मेलाको बेला नेपालकै लामो मानिने ७०२ मिटर लामो कनकाई पुल भिडले खचाखच हुने गरेको थियो। तर यसपल्ट भने १०५ मात्रै तिर्थालुहरु होलान,’ स्थानिय होटल व्यवसायी गणेश ओझा भने।
कोरोना संक्रमण जोखिम हुने भन्दै जिल्ला प्रशासन कार्यालय झापाले यस वर्ष माई मेला संचालन नगर्न र नगराउन निर्देशन दिएपछि मेला नलागेको हो।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सूचना निकालेर कोरोना संक्रमणको जोखिम विद्यमान रहेको भन्दै मेलामा अत्याधिक भीडभाड हुने र त्यसबाट संक्रमण फैलनसक्ने उच्च जोखिम रहेकाले सो निर्णय गरिएको जनाए।
कनकाई नदी पूर्व कनकाई नगरपालिका र पश्चिम शिवसताक्षी नगरपालिकामा हरेक वर्ष माई मेला लाग्ने गरेको छ। यी दुवै नगरपालिकाले जिल्ला प्रशासन कार्यलयको निर्णय अनुसार यो वर्ष मेला नलगाउने निर्णय गरेको हो।
हरेक वर्ष माघे संक्रान्तिको अवसरमा तीन दिनसम्म कनकाई नदीको किनारमा माई मेला लाग्ने गरेको थियो।
प्रदेश नं १ कै ठूलो मेलाको रुपमा चिनिएको माई मेला कोरोना संक्रमणको जोखिमले यस वर्ष नलगाउने निर्णय गरेको शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले बताइन्।
उनले मकर नुहाउन आउने मानिसलाई भने खुल्ला गरिएको जानकारी दिइन्।
धार्मिक क्षेत्रमा दैनिक रुपमा वस्ने पुजा सामग्रीका पसल बाहेक, पिङ , होटल र अन्य विक्रि वितरण र भिडभाड गर्न रोक लगाएको थियो।
यद्दपी नुहाउने र पुजाआजा गर्नेलाई भने रोक नलगाएको शिवसताक्षी नगरपालिकाले जनाएको छ। तर नुहाउने र पुजाआजा गर्नेलाइ भने रोक नलगाइएको कन्काई नगरपालिकाका कार्यकारी अधिकृत मोहनप्रसाद न्यौपानेले बताए।
झिलझिले , लाल्झोडाबाट आएका ७ जनाको युवा टोलिका विनोद मुरुमुले यसपटक मेलाको त्यति रौनक नभएको र खल्लो लागेको बताए।
माईमेलाको धार्मिक विश्वास
कहिलेदेखि यहाँ मेला लाग्ने गरेको भन्ने यकिन प्रमाण भने छैन। यो मेला इलामको निरन्तरता भएको जानकारहरु बताउछन्। चारदशक अघिदेखि सो क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्दै आएका हरिप्रसाद गौतमले राई समुदायका मानिसले मेला लगाउन सुरु गरेको हुनसक्ने बताए।
पूर्वमा न्वागी राई समुदायले खाने र मनाउने गरेको पाइने गरेको गौतम समाज झापा अध्यक्षसमेत रहेका उनले भने।
‘त्यस क्षेत्रमा आवादीको सुरुवाती चरणमा राई समुदायका मानिसले जंगल फाडेर बसोबास गरेको देखिन्छ, माई मेलाको सुरुवात पनि त्यही बेलादेखि उनीहरूले नै सुरु गरेको हुनुपर्छ,’ उनले भने।
झापाको धार्मिक तथा पर्यटकीय स्थल र सीमाका अनुसन्धानकर्ता तथा इतिहासका जानकार चिन्तामणी दाहालले माईको उत्पत्ति र मानिसको बसोबास सँगसँगै माई मेला सुरु भएको दाबी गर्छन्।
यो मेलाको सम्बन्ध धार्मिक पक्षसँग जोडिएको बताउँदै उनले मेलाको सुरुवात कहिले भयो त्यसको ठोस प्रमाण अहिलेसम्म फेला नपरेको जानकारी दिए।
‘पहिला आदिवासी राजवंशी समुदायका मानिसले माघ १ गतेका दिन माईमा सामुहिक रुपमा नुहाउने गरेका थिए। पछि मेलामा रुपान्तरण भएको हो,’ दाहालले भने। माई मेलाको सुरुवात प्रकृतिपुजकहरुले गरेको जानकारहरुको तर्क छ।
मेची क्याम्पसका पूर्वक्याम्पस प्रमुखसमेत रहेका दाहालले व्यवस्थित रुपमा २०१७ सालदेखि मेला सुरु भएको बताए।
त्यसबेला जिल्ला पञ्चायत मेला व्यवस्थापन समिति गठन गरेर तत्कालीन सुरुङ्गा गाउँ पञ्चायतलाई रेखदेखको जिम्मेवारी दिने गरेको लिखित प्रमाण रहेको दाहाल बताउँछन्।
माघ १ गते माघे संकरान्तिका दिन कनकाइ नदिमा स्नान गरेर तिलको लड्डु र तरुल खाएमा पाप बाट मोक्ष प्राप्त हुने र मनोकामना पुरा हुने जनविश्वास रहेको छ। यहाँ नुहाउन र मेला भर्न पुर्वी नेपालका झापा, इलाम, ताप्लेजुङ, तेह्रतुम, सुनसरी , मोरङ, धनकुटा, पाँचथर , र छिमेकि राष्ट्र भुटान, भारत, र बंगलादेशवाट समेत हजारौको संख्यामा मानिस आउने गरेका थिए।
के नामले प्रशिद्ध छ ?
कनकाई पुलको पूर्व-उत्तरतिर रहेको पवित्र स्थान कोटिहोम नामेले परिचित छ। २०४२ सालको पुस महिनामा यस ठाउँमा विशाल कोटिहोम लगाएको थियो। योगि नरहरिनाथको सक्रियता र अगुवाइमा सो महायज्ञ सम्पन्न भएको थियो।
यसमा १००८ स्वामी कैलाशानन्दको पनि महत्तवपूर्ण सहभागिता र सहयोग रहेको थियो। दुई योगीका अतिरिक्त सुरुङ्गा र झापाका केही धर्मप्रेमीले पनि महायज्ञमा सहयोग गरेका थिए।
जुन अग्निमा कोटिहोम भएको थियो त्यही अग्नि प्रज्वलित छ, निभेको छैन।योगी नरहरिनाथद्वारा सम्पन्न शताधिक कोटिहोममध्य कनकाई धामको अग्निमात्र वलिरहेको छ।
यसको संरक्षण र संवद्र्धन कनकाई धाम धार्मिक विकास संस्था र यसमा आबद्ध व्यक्तिहरूबाट हुँदै आएको छ।
धामका आसपासमा रहेका वंश प्रतिष्ठानले पनि धामको शोभा बढाएका छन्।
विभिन्न थरगोत्रीय बन्धुले आ–आफ्ना वंशोत्थानका निमित्त प्रतिष्ठान खडा गरी मन्दिर, धर्मशाला निर्माण गरेका छन्। धामको अस्तित्वमा नै सबै वंश प्रतिष्ठानको अस्तित्व अडिएको छ। थरगोत्रीय संस्थामा आबद्ध सबैले बुझेको खण्डमा यो ठाउँ भारतको हरिद्वारभन्दा कम नहुने बताइन्छ।
धामका क्षेत्रभित्र रहेका वंश प्रतिष्ठानमा केहीले सक्रियताकासाथ आफ्नो धार्मिक तथा सांस्कृतिक गतिविधि बढाउँदै लगेका छन्।
बुद्धमार्गीले बुद्धगुम्बा निर्माण गरी आफ्नो धार्मिक तथा सांस्कृतिक परम्परा कायम राख्दै आएका छन्। बौद्धमार्गीबाहेक अन्य बन्धुहरू हिन्दु वैदिक परम्परामा आबद्ध छन्।