पोस्ट कोभिडको असर : संक्रमित भन्छन्, 'आफूलाई आफूजस्तै लाग्दैन'

शिलापत्र

काठमाडौँ

 सविना देवकाेटा

गत २० साउनमा स्वास्थ्य स्थिति जटिल बनेपछि वीरगञ्जबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएका ४३ वर्षीय अरविन्द सिंहलाई कोरोना संक्रमण पुष्टि भयाे । करिब ५१ दिन अक्सिजनको सहारामा पाटन कोभिड अस्पतालको आईसीयूमा भर्ना भइ उपचार गराएका सिंह ६ असोजमा डिस्चार्ज पनि भए ।

यसरी झण्डै दुई महिना लामो समयसम्म उपचार गराएपश्चात् कोरोना संक्रमणबाट मुक्त भएका सिंहले हालसम्म पनि कोरोना सिर्जित समस्याबाट भने मुक्त हुन पाएका छैनन् । 

संक्रमणमुक्त भएलगत्तै अचानक उनको मुटुमा समस्या देखियो । मुटुका चारैवटा भल्ब पर्याप्त मात्रामा नखुलेको पाइएपछि उनलाई तारन्तार गंगालाल अस्पताल पुर्‍याइएको थियो । त्यति मात्रै नभई कोरोनाका कारण फोक्सोमा घाउका पाप्राहरू पनि देखियो । यसको अलवा हाल उनलाई प्रोस्टेटको पनि समस्या देखिनुका साथै फियोको साइज बढेको पाइएको छ ।

जटिल प्रकृतिको भाइरसले बहुआयामिक असर गरेको हुन सक्ने अनुमान चिकित्सकहरूले गरिरहेकै बखत हालै मात्र उनको छातीको देब्रे पाटोमुनि गाँठो पनि देखिएको छ । साथै, बिल्लिरुबिनको (रक्तकोषिका टुक्रिँदा हुने पहेँलो पदार्थ जसको अधिकत्तम मात्राले जन्डिस हुन्छ ) मात्रा पनि बढेको छ ।

टन्सिल र सामान्य ज्वरोबाट सुरु भएको कोभिड संक्रमणबाट मुक्त भइसक्दा पनि हाल यसको असर उनको मुटु, फोक्सोलगायत विभिन्न अंगमा देखिएको हो । अरविन्द भन्छन्, ‘कोरोनाअघि म ८० केजीको थिएँ, अहिले ५५ केजी भएको छु ।’ पछिल्ला समय यस्ता विविध शारीरिक दुर्बलताका कारण लामो समयसम्म उनमा निद्रा नलाग्ने समस्या पनि देखियो । ‘कसैले पनि मलाई फर्किन्छ भनेका थिएनन्, मृत्युको मुखमा पुगेर बाँचेको हुँ म’, कोरोना कहरको आफ्नो भोगाइको निचोड यसरी निकाल्छन्, अरविन्द ।

आफूजस्तो स्वस्थ मानिसमा पनि कोरोनाले हालसम्म पारेको भयानक प्रभावले कोरोनालाई ख्यालठट्टाको रूपमा लिन नहुने उनी बताउँछन् । अरविन्द भन्छन्, ‘मैले आजसम्म ६० पटक भन्दा बढी रक्तदान गरेको छु । मलाई कुनै पनि किसिमको स्वास्थ्य समस्या नै थिएन ।’ नियमित जिम र व्यायाम गर्ने अरविन्दमा यसअघि कुनै पनि समस्या नभएकाले मुटुको समस्यालगायत अन्य समस्या कोभिडपछिकै असर रहेको अनुमान चिकित्सकहरूले गरेका छन् । 

एकपटक कोरोनाले बिग्रिएको फोक्सोले भविष्यमा पनि निमाेनिया गराउने जोखिम हुनाले खोप लगाउने सोचमा रहेको अरविन्द बताउँछन् ।

प्रकाशित मिति: : 2021-01-14 15:39:00

प्रतिकृया दिनुहोस्