राति अबेर फर्किँदा छोरी निदाइसकेकी थिई। सानो छोरो मध्य पुसको जाडोमा सिरकसँग लुट्पुटिएको थियो। श्रीमती मेरो बाटो हेर्दै। निदाउनुअघि 'बाबा कतिबेला आउने?' भन्दै दुवैले बाबालाई खुब पर्खिए भन्दै थिइन् उनी।
भोलिपल्ट शनिबार, छाउगोठ भत्काउने अभियानमा सदरमुकाम मंगलसैनबाट ८० किलोमिटर टाढा सोकट जाने योजना बुन्दा अबेर भएको थियो। निदाइसकेका छोरीछोरा अब मलाई एकैचोटि पर्सि बिहान देख्नेवाला थिए। केही दिनयता नियमित कामकाजका अतिरिक्त अछाममा सदियौंदेखि कुरीतिको रूपमा रहेको छाउपडी प्रथा उन्मूलनको अभियानमा लागेकाले बढी व्यस्त छु।
पोहोरदेखि सुरू भएको अभियानमा ६ हजार छाउगोठ भत्काइएको तथ्यांक थियो। तथ्य यो पनि थियो कि पछिल्लो दशकमा छाउगोठमा १० जनाभन्दा बढीले ज्यान गुमाएका छन्। बलात्कृत हुने, हिंसा खेप्ने, सर्प-कीराको टोकाइ सहनेको त हिसाबै छैन।
नभन्दै सबेरै हिडेँ। अघिल्लो हप्ता यसैगरी हिँड्दा ४ बजे खाना खाएको उदाहरण दिँदै श्रीमती 'रोटी खाएर जानू, बाहिर खानाको टुंगै हुँदैन' भन्दै थिइन्।