फेरि मिल्नु छँदैछ, कति टाउका फुटेपछि मिल्ने भन्ने मात्रै हो

बाह्रखरी

काठमाडौँ

२०७४ असोज १५ गते मुलुकमा दसैँको रौनक निख्रिएको थिएन । सबै टीकाटालोमा व्यस्त थिए । तत्कालीन एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले ट्विट गरे– ‘नेपाली राजनीतिमा ऐतिहासिक क्षण र नयाँ तरङ्ग । थोरै प्रतीक्षा..!’

दसैँको आखिरी क्षणमा भट्टराईले गरेका ट्विटको आसय के थियो, मानिसहरूले भेउ पाउन धेरै प्रतिक्षा गर्नुपरेन । दुई दिनपछि एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भयो ।

राष्ट्रियसभा गृहमा तत्कालीन नयाँ शक्ति पार्टीका नेतृत्वकर्ता डा. बाबुराम भट्टराईसमेत गरी तीन पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भयो । भट्टराईको ट्विटको भेद खुल्यो ।

तर, त्यो उत्साह तीन वर्ष पनि टिकेन । वामगठबन्धनमार्फत् एकतालाई जनमतमार्फत् अनुमोदन गराएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भएको थियो । तर, पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भङ्ग गर्ने सिफारिससँगै पार्टी एकता पनि भङ्ग हुन पुग्यो ।

अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र प्रधानमन्त्री केपी शर्मा ओली विधिवत् अलग भएका छन् । एउटा समूह सरकारको नेतृत्व गर्दै चुनावी कोर्समार्फत् मुलुकलाई ट्र्याकमा लैजाने उद्घोष गरिरहेको छ । प्रचण्ड–नेपाल समूह संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भन्दै दोस्रो चरणको सडक सङ्घर्षमा छ ।

प्रधानमन्त्रीले वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा त गरेका छन् । तर, संसद् विघटको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले चुनाव हुनेनहुने अन्यौल छ ।

अब के होला मुलुकको राजनीति ? कुनबाटोबाट अघि बढ्ला यसको उत्तर भविष्यकै गर्भमा छ । यिनै विषयवस्तुमा आधारित भएर नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईसँग  बाह्रखरीका अक्षर काका र कुञ्जरमणि भट्टराईले गरेको  कुराकानीको सम्पादित अंश :–

२०७४ सालको दसैँ सकिँदानसकिँदै तपाईंले माइक्रो ब्लगिङ् साइट ट्विटरमार्फत् नेपाली राजनीतिमा ऐतिहासिक क्षण आउँदैछ भनेर उत्साह व्यक्त गर्नुभएको थियो । त्यसको केही दिनपछि वामगठबन्धन भयो । पार्टी एकता भएर तपाईंको उत्साहले मूर्तरूप पनि लियो । तर, तीन वर्षमै विभाजनको पीडादायी क्षण बेहोर्नुपर्ने अवस्था आयो नि !

तपाईंले उठाएको प्रसंग २०७४ असोज १५ गतेको हो । त्यतिबेला तत्कालीन एमालेमा माओवादीसँग चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने बहस सघन भइरहेको थियो । मिलेर चुनावमा जाने कि, एक्लै होमिने भन्ने छलफल जारी थियो ।

तपाईंलाई भनूँ– त्यसको दुई दिनअघि पार्टी मुख्यालय, धुम्बाराहीमा स्थायी कमिटी बैठक थियो । त्यो बैठकमा तत्कालीन उपाध्यक्ष वामदेव गौतमले ‘माओवादी केन्द्रसँग चुनावी तालमेल गरेर जाऔँ, चुनावी मोर्चा बनाऔँ’ भनेर प्रस्ताव ल्याउनुभएको थियो । बैठकमा विस्तारपूर्वक राख्नु भयो । छलफलको दौरानमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले त्यो प्रस्तावलाई सीधै अस्वीकार गर्नुभयो । र, उपाध्यक्ष वामदेवलाई ‘माओवादी परस्त’को आरोप पनि लगाउनुभयो ।

प्रकाशित मिति: : 2021-01-12 12:15:00

प्रतिकृया दिनुहोस्