अस्मिना शर्मा, २१। जतिबेला गाउँमा थिइन् उनलाई हिरोनी बन्ने हुटहुटीले तान्यो। कक्षा ३ मा अध्ययनरत रहँदा साँखु पालुबारी शंखरापुरमा मुगलान फिल्मको सुटिङ हुँदैथियो। त्यसमा कलाकार थिए दिलिप रायमाझी, रमित ढुंगाना र झरना थापा।
उनीहरुको अभिनय देखेर आफू पनि कलाकार भएको सपना देख्न थालिन् र झरनासँग आफ्नो तुलना गर्न भ्याइन्।
यतिबेला दिलिपलाई उनले भन्नसमेत भ्याएकी थिइन्, 'म पनि तपाईहरु जस्तै कलाकार बन्छु।' उनलाई दिलिपले काखमा राख्दै भनेका रहेछन्, 'ठूलो भएर हामी जस्तै कलाकार बन्नु ल।'
त्यसदिन उनी राम्रोसँग निदाउन सकिनन्। कलाकार बन्ने सोचले निन्द्रा नै भाग्यो। पढाईभन्दा अभिनयलाई उनले आफ्नो लक्ष्य बनाउन थालिन्। अब उनी कल्पनाको संसारमा डुब्न थालिन्। 'म महसुस गर्न चाहन्थे, नाटक गर्दा कस्तो हुन्छ' उनले विगत सुनाइन्।
शिक्षकले पढाउँदै गर्दा ठूलो भएर के गर्छौं भनेर विधार्थीलाई सोध्ने गर्थे। कसैलेको उत्तर डाक्टर, कसैको इन्जिनियर त कसैको पुलिस हुन्थ्यो। तर उनले उत्तर 'कलाकार बनेर चिनिन्छु’ भन्ने नै हुन्थ्यो। उनको कुरा सुनेर कक्षाका अन्य विद्यार्थी पनि जिल्ल पर्थे।
कलाकार बन्छु र पपुलर हुन्छु भनेर उनले सानो मै सोचिसकेकी थिइन्। उनको यो अभियानमा बुवा सितारामले साथ दिए। 'मलाई मेरा बाबाले कला क्षेत्रमा पुर्याउने काम गर्नुभयो', बच्चा बेलाको कुरा स्मरण गर्दै उनले भनिन्, 'परिवारले सहयोग गर्छन् भनेर मख्ख थिए।'
सितारामकी तीन केटाकेटीमध्ये उनी एक्ली छोरी र दुई भाई कि दिदी थिइन्। त्यसैले घरमा उनलाई सबैले माया गर्थे। भन्नुपर्दा पुलपुलिएर हुर्किएकी थिइन्।
एक्ली छोरी भएकै कारण आमा अम्बिकाले पनि घरायसी काममा उनलाई अड्काइनन्। आमाबुवा भन्ने गर्थे, 'छोरी राम्रोसँग पढ। अरु काम गर्नुपर्दैन तिमीले।'
'एभरग्रिन हाइलर सेकेण्डरी स्कुल' बाट 'एसएलसी' दिइसक्दा पनि उनले काम धन्दामा हात हाल्नु परेन। १० को परीक्षा दिएर उनी ब्युटी पार्लर धाउँने गर्थिन्। 'त्यतिखेर फ्रि थिए, त्यसैले काम सिक्ने विचार गरे' उनले भनिन्।