सुशोभित सिंह सक्तावत
केही दिन पहिला मैले कतै पढें, आद्रा तारा मृत्युको सङ्घारमा पुगेको छ। यो सुनेर मलाई कोमल, पवित्र विषादले घेर्यो। विषादको त्यो नक्षत्र मभित्र उदायो र फेरि अस्त भएन।झण्डै ६५० प्रकाशवर्ष टाढा रहेको एउटा ताराको आसन्न मृत्युले मलाई किन दु:खी बनायो ? कुनै खास कारण त भन्न सक्दिनँ। मलाई यति मात्रै थाहा छ यस तारासँग मेरो प्रतिदिन जम्काभेट हुन्छ, शायद यसैले होला मलाई यस तारासँग अनुराग जस्तो केही भयो।
म प्रतिदिन साँझ घुम्न निस्किन्छु। बाहिर निस्किँदा मेरो शीशमाथि आकाशमा मृग तारामण्डल सुशोभित हुन्छ, आद्रा यसै मण्डलको प्राण हो। म प्रायः यसलाई हेरिरहेको हुन्छु। यो म सँगसँगै गति गरिरहेको हुन्छ। के म यो सम्झौं यसको उपस्थितिले मलाई एकान्त अनुभूति हुन्न ? तर मेरो अनुभव छ यसो भन्नु उपयुक्त हुन्न। अपितु मलाई लाग्छ यसको साथ र सँगतले मेरो एकान्त झनै निस्तब्ध हुन्छ। मनमा विचार आउँछ यहाँ पृथ्वीमा म एक्लै छु त्यहाँ सुदूर अन्तरिक्षमा आद्रा एक्लै छ। यी त दुइटा एकान्त भए ! अब आकाशमा त अनन्त तारा छन्, त्यसो भए एकान्त संख्या कति हुन पुग्छ ! ?
मानव सभ्यताको इतिहासमा मानिसले जुन तारालाई आश्चर्यका साथ बारम्बार अध्ययन अवलोकन गरेका छन् त्यसमा आद्रा अग्रस्थानमै पर्छ। यस पंक्तिमा आउने अन्य नाम स्वाति, रोहिणी, अभिजीत, अगस्त्य, ध्रुवभन्दा कम चिन्तन गरेको छैन मानवीय मेघाले आद्राबारे ।