राष्ट्रिय कविता प्रतियोगितामा २०६८ सालदेखि कुनै पनि वर्ष भाग लिन छुटाएनन् उनले। निरन्तरताको प्रतिफल भने मिल्यो २०७३ सालमा। प्रतियोगितमा उनको कविता 'टेको' तेस्रो ठहरियो। यो जित नै थियो जसले उनका लागि एकल कविता बाचनको ढोका खोल्यो। पहिलो एकल वाचन। शब्दशब्दमा बटुले वाहवाही। खुशी नहुने कुरै भएन। तर, त्यहीँ बजेको तालीको गड्गडाहटबीच कसैले गरेको प्रश्नले उनलाई नमीठो गरी चिमोट्यो। कसैले बोली उनको कानमा पर्यो - 'असीम सागर पनि कहीँ कवि हो?' एउटा समूह नै थियो, उनले पुरस्कार जितेकै वर्ष उनलाई कवि मान्ने कि नमान्ने भन्ने विवाद चर्काउने। त्यो विवाद कविहरूको समूह पोखियो, सामाजिक सञ्जालका भित्ताहरुमा रङ्गियो। असीम सागरले पत्तो पाएनन्, ती प्रश्नहरु उनको पहिचानमाथि थियो या सिर्जनामाथि? घटनाले निराश बनाइरह्यो उनलाई।
तर, उनलाई विश्वास थियो आफ्ना – भोगाइहरूमा अनि ती भोगाइले जन्माउने कविताहरूमा।
'मैले सधैं अनुभूतिलाई शब्दमा उतारेँ। थाहा छैन कवि बन्न कुन शुत्र अनुसार कविता लेख्नुपर्थ्यो। तर, मलाई विवादले असर गरेन। आलोचना स्वीकारेँ। लेखिरहेँ,' असिमले सुनाए।
असीम सागरले भनेजस्तै न उनको जीवन फर्मुलामा चल्यो न कलम नै। हरेक आरोह, अवरोह भोगिरहे। बाँच्दा भोगेका आँशु र हाँसोलाई कहिले क्यानभासमा पोते त कहिले शब्दहरुमा उतारे।