उनी सुरै हुन क्यार। संविधानमा संसद विघटनकाे कुरा नभएपनि उनले भएजस्तो गरे। परिणाम संविधान विघटन भयाे। सायद उनले नजिरमाथि टेके। नजिरकाे कानुन सरह अस्तित्व हुन्छ। राष्ट्रपति पनि उनैले बनाएका हुनाले झन् सजिलाे भयाे।
उनले मन्त्रीपरिषद्बाट सिफारिस गरि पठाए। राष्ट्रपतिले लालमाेहर लगाइदिन। संसदीय व्यवस्थामा प्रधानमन्त्रीले संसद विघटन गर्न सक्छ। संसद विघटनलाई प्रधानमन्त्रीकाे विशेषाधिकार पनि भनिन्छ। तर, नयाँ संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने कुरा कतै उल्लेख छैन।
संविधानमा जेसुकै लेखेकाे भएपनि व्यवस्था संसदीय नै हाे, चाहे त्याे सुधारिएको हाेस वा नसुधारिएको। उनकाे कदमले संसारभरकाे संसदीय व्यवस्था उस्तै हाे भन्ने देखायाे। जसरी संसारभरका काग काला हुन्छन्, त्यस्तै संसदीय व्यवस्था पनि हुने रहेछ। सुधारिएको संसदीय व्यवस्था भनेर ढंङ फुक्नु त पुरानाे सिरकमा नयाँ खाेल हालेर नयाँ हाे भनि फुइ लाए सरह नै रहेछ।
सरकारमा यसअघि बसेर ढाडु, पनिउ चलाउनेहरुले गरेकाे संसद् विघटन र उनले गरेकाे याे संसद् विघटनमा खासै भिन्नता देखिएन। संविधान विद्, संविधान बनाउन संलग्न रहेका सभासद, कानुन पढेका, जानेबुझेकाले कानुन र संविधानकाे कुरा गरेका भएपनि संसदीय व्यवस्थाकाे असली चरित्रमा खासै अन्तर रहेनछ भनेर उनले देखाए।
उनी भनेका प्रधानमन्त्री केपी शर्मा ओली हुन। यहाँ उनलाई नाम भन्दा पनि सर्वनामले चिनाउन खाेजिएकाे छ। त्यसैले पाठकहरुले सजिलै बुझ्नुहुनेछ भन्ने आशा गरिएकाे छ।
धेरै लेखक बुद्धिजीवीहरुकाे मत छ, उनलाई राजा हुने मात चढेछ। उनका आफ्ना समर्थककाे बलियाे तर्क छ, 'निर्वाचनबाट ताजा जनादेश चाहने कसरी निरंकुश? कसरी राजा बन्ने महत्वाकांक्षा? निर्वाचन मार्फत बहुमत ल्याएर प्रधानमन्त्री भए भैगाे नी।'
उनले निर्वाचनको मिति नै ताेकिसकेका हुनाले कार्यकर्ताकाे तर्क गलत भएन। त्यसमाथि कम्युनिस्ट आन्दोलनबारे गहन अध्ययन गरेका, विचार र सिद्धान्तको मात्र नभइ निष्ठाकाे राजनीति गरेका नाराणमान बिजुक्छे उनकाे पक्षमा उभिएपछि कार्यकर्तालाई मसला भएछ र भनिरहेका छन्, 'बिजुक्छे जस्ताे नेताले प्रधानमन्त्रीकाे कदमलाई सही भनेको हुनाले संसद विघटन सही छ।'
पाँच वर्षकाे लागि भएकाे निर्वाचन, पाँच वर्ष मज्जाले काम गर भनि जनताले दिएकाे जनादेश र बीचमा केही खालकाे बाधा नहाेस भनि गरिएको संवैधानिक व्यवस्थालाई पूर्ण रुपमा व्यवास्था गरि विशेषाधिकार प्रयोग गरिएको हुनाले उनमा शक्तिको चरम भाेग जागेकाे मत बलियाे छ। जसरी इतिहासमा राजा महाराजाहरुमा शक्तिको भाेग जागेको थियाे। कथामा देवीदेवता र राक्षसहरुमा शक्तिको भाेग जागेकाे थियाे।
यी त हुन काठमाडौंका कुडा। नेता र बुद्धिजीवीका कुडा। बुद्धिजीवीहरु स्वार्थी हुन्छन् भनेर नेताहरुले नै भन्ने गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्सेतुङले त बुद्धिजीवीकाे विराेध नै गरेका थिए। यसैपनि मध्यम वर्ग ढुलमुले नै हुन्छ। तर पनि बुद्धिजीवीकाे बाेली मिठाे हुन्छ। प्राज्ञिक हुन्छ। असरै पार्ने नै भएपनि बाेलिमा छुद्रता हुँदैन। तर कहिले पनि सत्ताकाे हुन नचाहेका बाैद्धिक व्यक्तित्व भने उनकाे कदमलाई सही मान्न तयार छैनन्।
तर नेताहरु केही बाँकी नराखी बाेल्छन्। उनीहरुका शब्दमा भद्रता हुँदैन। त्यसैले माधव कुमार नेपालले सजिलै भनिदिए, 'आफू मरे डुमै राजा' भनेर।
एक अर्काेलाई जे पनि भनिदिने नेताहरुमा एउटा भुल्नै नहुने गुण हुँदाे रहेछ, स्वार्थ मिल्नासाथ सबै कुरा बिर्सेर मिल्न सक्ने। एक हिसाबले नेताहरु ईख नभएका मान्छे हुन। उखानै छ, 'ईख नभएकाे मान्छे र विष नभएको सर्पकाे काम हुँदैन।'
'प्रचण्ड हत्यारा हुन,' 'ओली बलात्कारी हुन' भन्नेहरु 'प्रचण्ड युगले मागेकाे नेता हाे,' 'ओलीमा विशिष्ट क्षमता छ' भन्दै मिलेका थिए। नमिल्दा युद्धले विनाश मात्र गर्याे भन्नेहरुले मिल्दा जनयुद्ध नभएको भए परिवर्तन सम्भव थिएन भने। यस्तामा ईखकाे पाे के खाँचाे भयाे र?
तर, गाउँका जनता र कार्यकर्ताहरुमा ईख र विष दुबै हुँदाे रहेछ। त्यसैले उनीहरु सत्रु र मित्र चिनेर मात्र व्यवहार गर्छन्। आफ्नै गाउँभित्र पार्टी मिलेन भने पानी बाराबार हुन्छ। अैंचाे, पैंचाे बन्द हुन्छ। भाराे परिम राेकिन्छ। राेपाईं, चाेपाईं राेकिन्छ। बिहेबारी राेकिन्छ। गाउँ फरक छ भने बिहे गरेकी छाेरी माइत आउन पाउँदिन। आमा र छाेरी बीच राजनीतिकाे ग्रेट वाल लाग्छ। जसले मान्छेहरुकाे मनलाई राजनीतिले विभाजन गरेकाे उत्तर र दक्षिण काेरिया बनाउँछ।
झाेक चल्याे भने विकासका साझेदार आफ्नै कार्यकर्ता मात्र हुन्छन्। उपभोक्ता समितिमा घरपरिवार र नातेदार हुन्छन्। झाेक शान्त भएन भने बालबालिकाले पढ्ने स्कुल समेत टुक्र्याएर दुई बनाइन्छन्। जसरी जुम्ला हिमाकाे रुपाकाेट आधारभूत विद्यालय फुटाएर दुई बनाइयाे। सिंजा भाडगाउँका विद्यार्थी नजिकै पाँच मिनेट लाग्ने जाेडु गाउँकाे स्कुलमा पढ्न जाँदैनन्।
यसरी निर्माण गरिएकाे समाजमा पार्टीका कार्यकर्तालाई पनि बेसेमारी झाेक चल्ने रहेछ। उनीहरुका नारा पनि त्यस्तै खालका हुने रहेछन्।
उनका विराेधि सठकमा आए, नारा लगाए, 'आर्यघाटले के भन्छ, केपी, विद्या ले भन्छ।' केपी तिम्राे पाराले, दु:ख पाए साराले।' भाेलीपल्ट उनका समर्थक आए, कपि पेष्ट नारार लगाए, 'आर्यघाटले के भन्छ, प्रचण्डलाई ले भन्छ।' प्रचण्डकाे पाराले,...।'
कम्युनिस्ट भनिएका यी गुट उपगुटका नेता कार्यकर्ताले कम्युनिस्ट मार्क्स, ऐंगेल्सले लगाएका सबै बिर्सिए। संसारका मजदुर एक हुनुपर्ने नारा बिर्सिए। देशका उखु किसानका पीडा बिर्सिए।
देशभर कहीँ कतै पनि नेता कार्यकर्ताले जनताका आवश्यकताका कुरा गरेनन्। जनता के चाहन्छन्, देशकाे लागि के गर्नुपर्छ भनेर बाेलेनन्। केबल गाली गरे। कार्यकर्ताले नारामा गाली गरे। नेताले भाषणमा गाली गरे। बाँकीले तालि ठाेके कार्यक्रम सकियाे। आफ्नाे आफ्नाे बाटाे लागे। फेसबुकलाई समेत दुर्गन्धित गरे। मार्क जुगरवर्गकाे आगन गन्हाउने गरी।
स्थानीय स्तरका नेताले यस्तै गरि दिन बिताइरहेका छन्। प्रदेश स्तरका सांसद भएका नेतालाई पद जाेगाउने चटाराे छ। त्यसैले उनीहरु कित्ताकट गर्न लागेका छन्। याे कित्ताकटलाई भने जनताको अगाडि मिठाे गरि पस्किइने रहेछ, 'वर्तमानमा परिस्थिति, देश र मेरा ठाउँका जनताकाे चहना अनुसार म फलानाे पक्षमा अडिक रहेकाे कुरा विश्वास दिलाउन चाहन्छु।' मानाैं उनीहरुले कित्ताकटकाे लागि जनमत संग्रह नै गरिसके।
यीनै गतिविधिले देखाउँछन् 'भाडमा जाय जनता।' कार्यकर्ताकाे पारा त सडकमा आउने, नारा लगाउने बाहेक के नै छ र? त्यसैले उनी मात्र हाेइन उनका विराेधि पनि 'गाँसेगुसे, एकैनासे' हुन।