वामदेवले सुरु गर्ने भए नेकपा एकता अभियान, केन्द्रीय सदस्य ५५१ जना

नेपाल खबर

काठमाडाैं

वामदेव गौतमले नेकपा राष्ट्रिय एकता अभियान सुरु गर्ने भएका छन्। जसका लागि बुधबार उनले ५ सय ५१ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गर्ने भएका छन्।

‘वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्न ५ सय ५१ सदस्यीय कार्य समिति निर्माण गरिएको छ,’ गौतमनिकट केन्द्रीय सदस्य हरि पराजुलीले नेपालखबरसँग भने, ‘आगामी बुधबार यस समिति र अभियानको घोषणा हुने छ।’

पराजुलीका अनुसार केन्द्रीय समितिमा रहेका सबै सदस्यहरु प्रदेश कमिटीको पदेन सदस्य हुने छन्।

‘अभियान सञ्चालनका लागि ७५ सदस्यीय सचिवालय रहने छ,’ पराजुलीले भने, ‘सबै स्थानीय तहमा एकता अभियानको समिति गठन हुने छ।’

गौतमले कानुनी रुपमा विभाजनको छिनोफानो नहुन्जेलसम्म शिष्ट भाषाको प्रयोग गर्न, एकअर्काको बारेमा कुराकानी नगर्न र दुवैतर्फको भेला, बैठक तथा आमसभामा नजान आम कार्यकर्तालाई आह्वान गर्ने छन्।

पराजुलीका अनुसार विवाद समाधानका लागि गौतमले रोडम्याप पनि अघि सारेका छन्। जसमा माघमा पार्टीको विशेष महाधिवेशन गरेर अध्यक्षबाट केपी ओलीलाई विदा दिने र उनले वैशाखमा घोषणा गरेको चुनावमा सहभागी हुने कार्यक्रम छ।

प्रकाशित मिति: : 2021-01-08 18:11:00

प्रतिकृया दिनुहोस्