केपी ओलीको ‘बा’ प्रवृत्तिबाट लोकतन्त्र खतरामा छ, साझा झण्डामा आन्दोलनमा जाऔं : माधव नेपाल

रातोपाटी

काठमाडाैं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा देखिएको ‘बा’ प्रवृत्तिका पक्षपोषकहरुका कारण लोकतन्त्र नै खतरामा परेको बताएका छन् । उनले भने-‘त्यो प्रवृत्तिले कोही र कहीँ बाँकी राख्दैन। ‘बा’ संस्कृतिका पक्षपोषकहरुका कारण लोकतन्त्र नै खतरामा छ।’ बिहीबार नेकपाको आयोजनामा नागरिक समाजका अगुवाहरुसँग भएको अन्तर्क्रियामा नेता नेपालले ओलीको ‘बा प्रवृत्ति’विरुद्ध आफूहरुले संघर्ष गरिरहेको बताए ।  ‘म पहिले नै ओली प्रवृत्तिबाट आजित भएको थिए । तर बेदना सुनाउने र देखाउने ठाउँ थिएन’ उनले भने, ‘भित्र पनि समस्या थियो। बाहिर भन्न पनि नहुने पार्टीका कुरा। वेदना कहाँ सुनाउने ? तर, आज समयले तपाईं र मेरा ती वेदना साझा भएका छन्। बाँडिरहेका छौं।’ 

प्रधानमन्त्री ओलीसँग भन्दा पनि उनको प्रवृत्तिसँग आफ्नो लडाइँ भएको उनले बताए। उनले भने, ‘यो निरंकुश तानाशाही प्रवृत्ति हो । यो प्रवृत्तिले लोकतन्त्रमाथि धावा बोलेको छ, संस्थागत प्रणालीमाथि धावा बोलेको छ, संविधानमाथि धावा बोलेको छ ।’ 

आफूहरु कम्युनिष्ट भएपनि ‘उग्रवामपन्थी’ नरहेको उनको भनाई थियो। उनले भने, ‘कुनै समय हामीमा उग्रवामपन्थता थियो । त्यो उहिल्यै बागमतीमा बगाइसक्यौं । बगेर गइसकेको छ।’  त्यस्तो प्रवृत्ति भएका व्यक्ति भने सबै पार्टीमा भेटिने नेपालले बताए । त्यसैले त्यो प्रवृत्तिविरुद्ध एक्लाएक्लै नभई साझा मोर्चा बनाउनुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: : 2021-01-08 08:36:00

प्रतिकृया दिनुहोस्