चार अर्ब २७ करोडमा पिच गरिएको अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ६ महिनामै चर्कियो

करिब ५० वर्ष पुरानो धावनमार्ग पटकपटक भत्कने गरेकोले आकाशमा जहाज होल्ड गरेर हतारहतार पिच गर्नुपर्ने अवस्था थियो । पटकपटक समस्या आएपछि गरिएको नयाँ पिच पनि एक वर्ष नपुग्दै भत्कन थालेको छ ।

चार अर्ब २७ करोड खर्च गरेर गतवर्ष मात्र परिवर्तन गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ठाउँठाउँमा चर्किएको छ । करिब एक वर्ष लगाएर काम सम्पन्न भएको ६ महिना नहुँदैदेखि धावनमार्गमा चिरा देखिन थालेका छन् । 

५० वर्ष पुरानो तीन किलोमिटर लामो धावनमार्गको कालोपत्रे परिवर्तनको ठेक्का चिनियाँ सरकारी कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले पाएको थियो । यसका लागि सरकारको बजेट होइन, यात्रुबाट उठाइएको विमानस्थल विकास पूर्वाधार करको चार अर्ब २७ करोड रुपैयाँ खर्च भएको थियो । सो शीर्षकमा नेपाल आउने र जाने प्रत्येक यात्रुसँग एक हजार रुपैयाँ हवाई टिकटमै जोड्ने गरिन्छ । 

१८ चैत ०७५ बाट धावनमार्गको कालोपत्रे परिवर्तन सुरु गरेको कम्पनीले पुस ०७६ मा काम सकेर सरकारलाई हस्तान्तरण गरेको थियो । तर, धावनमार्गको दक्षिणतिरको साइटमा दर्जनभन्दा बढी ठाउँ फुटेको छ, कति ठाउँमा पानी पनि रसाउन थालेको छ ।

धावनमार्गको पिच भत्कनु गम्भीर विषय भएको नागरिक उड्डयन प्राधिकरणका एक पूर्वमहानिर्देशकको भनाइ छ । ‘विगतमा धावनमार्ग भत्किँदा ठूला जहाज उडान–अवतरणमै रोक लगाउनु परेको थियो,’ उनले भने, ‘पुरानो धावनमार्गमा पटकपटक यो समस्या आएपछि नयाँ पिच गरिएको हो । नयाँ पिचमा पनि एक वर्ष नबित्दै पुनः यस्तो समस्या आउनु गम्भीर विषय हो । यो समस्या बढ्दै गए विगतमा जस्तै आकाशमा जहाज घन्टौँसम्म होल्ड गरेर धावन मार्ग टालेर बस्नुपर्ने आवस्था आउनसक्छ ।’

प्रकाशित मिति: : 2021-01-08 08:22:00

प्रतिकृया दिनुहोस्