टोपबहादुरको टिप्पणी : कुलमानहरुले अन्डरग्राउण्ड बिजुली बनाउँदैछन्, कति साथी मर्ने हुन् !

अनलाइनखबर

काठमाडौँ

रवीन्द्र घिमिरे

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले गत हप्ता मन्त्रालयका कर्मचारीलाई संयुक्तरुपमा निर्देशन दिँदै भनेका थिए, ‘काठमाडौंमा वितरण लाइन सुधार्ने नाममा बिजुलीको तार भूमगित (अन्डरग्राउन्डिङ) गरेर ठीक गरिँदैछैन ।’

आइतबार गृहनगर सन्धिखर्क पुगेर उनले यो काम ‘खतरनाक’ भएको दोहोर्‍याए । मन्त्री रायमाझीले भने, ‘कति साथीहरु मर्ने हुन्, अहिले कुलमानजीहरुले अन्डरग्राउण्ड बिजुली बनाउँदैछन् । त्यहाँ स्काभेटरले खन्न थाल्यो भने स्काभेटरको मान्छे पनि मर्छ, त्यो धेरै खतरनाक भइराखेको छ । अहिले त्यो अध्ययन भइराखेको छ ।’

काठमाडौंमा प्रधानमन्त्री केपी ओलीले नै उदघाटन गरेको भूमिगत तार बिछ्याउने योजनामाथि टिप्पणी गर्दै मन्त्री रायमाझीले भने, ‘साथीहरुले के कारणले गरे, त्यो १२ अर्बको काम गरिहालेछन् । गरिसकेपछि अहिले त्यो खतरनाक भइराखेको छ । अस्ति महाराजगञ्जमा अण्डरग्राउण्डको शट भयो । अहिले बन्द गराएर माथिबाट ल्याइयो । अहिले तलको बन्द गरियो । झन् खतरा भो । अब यस्तो गर्दिया छ साथीहरुले ।’

विदेशमा चाहिँ खानेपानी बिजुली, इन्टरनेट, टेलिफोन, ढलजस्ता सडकमुनिका पूर्वाधार एउटै सुरुङमा राख्ने र बिगि्रएको संकेत पाएपछि गाडी गएर मर्मत गर्नेखालको करिडोर बनाउने गरिएको रायमाझीले बताए ।

प्रकाशित मिति: : 2021-01-05 12:05:00

प्रतिकृया दिनुहोस्