जुलियन असाञ्जलाई राहत, अमेरिकालाई सुपर्दगी गर्नुनपर्ने बेलायती अदालतको निर्णय

विश्वका थुप्रै दस्तावेज सार्वजनिक गरेर चर्चामा आएका विकिलिक्सका संस्थापक जुलियन असाञ्जलाई बेलायतको जिल्ला अदालतले ठूलो राहत दिएको छ। 

अमेरिकालाई सुपर्दगी गर्नुपर्ने मुद्धामा बेलायतको अदालतले अस्विकार गरेपछि असाञ्जले राहत पाएका हुन्। 

असाञ्ज अमेरिकाले सबैभन्दा बढी खोजी गरेको व्यक्तिमा पर्छन। र उनलाई आफ्नो देशमा प्रत्यर्पण गर्नुपर्ने दबाब दिँदै आएको थियो। 

उनले अमेरिकी सेनासँग जोडिएको थुप्रै दस्तावेज सार्वजनिक गरेका थिए। उनलाई देशविरूद्ध जासुसी गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ। 

असाञ्ज हाल बेलायतमा छन् र उनलाई आफ्नो देशलाई सुम्पिनुपर्ने अमेरिकाको अडान थियो। जिल्ला न्याधीस वेनेसा बेरेट्सरले भने, ‘असाञ्जलाई अमेरिकाको जिम्मा लगाउनुपर्ने कुनै कारण देखिदैन। यस्तो गर्नु दमन मानिने छ।’ 

यसअघि असाञ्जलाई स्विडेनमा एक महिलामाथि बलात्कार गरेको आरोपबाट पनि मुक्ति मिलिसकेको छ। असाञ्जलाई २०१० मा स्विडेनको अनुरोधमा लण्डनमा गिरफ्तार गरिएको थियो। 

उनीमाथि स्विडेनका दुई महिलालाई बलात्कार गरेको आरोप थियो। स्विडेन जानबाट बच्न असाञ्जले २०१२ मा लण्डनस्थित इक्वेडरको दुतावासमा शरण लिएका थिए। यस कारण उनी गिरफ्तारीबाट जोगिएका थिए। 

पछि इक्वेडर सरकारले पनि उनलाई शरण दिन अस्विकार गरेको थियो। २०१९ मा दुतावासबाट बाहिर निस्किने क्रममा बेलायती प्रहरीले उनलाई समातेको थियो। 

स्विडेनले २०१९ को नोभेम्बरमा उनको मुद्धा फिर्ता लिएको थियो। तर पनि उनी लण्डनको जेलमै छन्। 

असाञ्जले विकिलिक्सबाट इराक युद्धसँग जोडिएको चार लाख दस्तावेज सार्वजनिक गरेका थिए। जसका कारण अमेरिका इंग्ल्याण्ड र नाटो सेनामाथि युद्ध अपराधको आरोप लागेको थियो।

प्रकाशित मिति: : 2021-01-05 07:42:00

प्रतिकृया दिनुहोस्