कर्णालीका हिमाली जिल्लामा जनजीवन कष्टकर हुने गरी हिमपात भएकाे छ। आइतबार बिहानदेखि हुम्ला, जुम्ला, मुगुलगायतका हिमाली जिल्लामा हिमपात भएको हो।
बाक्लो हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिकाका सबै नाका बन्द भएका छन्। त्यहाँका स्थानीयलाई घर बाहिर निस्कन समस्या भएको छ भने एक गाउँबाट अर्को गाउँमा आउजाउ गर्न समस्या भएको छ।
हिमपातका कारण हुम्ला विमानस्थलमा तारा एयरलाइन्सका दुईवटा जहाज थन्किएका छन्।
आइतबार बिहान नेपालगन्जबाट हुम्ला अवतरण गरेको एउटा जहाजको ब्याट्रीमा समस्या आएपछि प्राविधिक टोली ल्याएर अर्को जहाज आएको थियो।
मर्मत गरी फर्किने बेलामा हिमपात भएपछि जहाज सिमकोटमै रोकिएको विमानस्थल प्रमुख विष्णु अधिकारीले बताए।
उनका अनुसार जहाज रोकिएपछि नेपालगन्ज सुर्खेत र काठमाडौं जाने यात्रुहरु सिमकोटमै अलपत्र परेका छन्।
विमानस्थलको हिउँ हटाएपछि मात्र जहाज नेपालगन्ज फर्कने उनले जानकारी दिए।