चेपाङ गाउँमा सडक

सांकेतिक तस्बिर

चितवनको ईच्छाकामना–२ हपनीका शेरबहादुर चेपाङ आइतबार निकै खुशी देखिन्थे । गाउँमा मोटरबाटो पुगेपछि शेरबहादुर खुशी भएका हुन्  ।  खुशी हुदैँ उनले भने, 'अब घन्टांैसम्म हिँड्नुपर्ने बाध्यता हटेको छ, गाउँमा उत्पादित तरकारी बजार लैजान सहज  भएको छ ।'

लामो समयको प्रयासपछि  गाउँपालिकाको विकट स्थानमा रहेको चेपाङबस्ती हपनी गाउँबाट शक्तिखोर–फिस्लिङ सडकखण्ड अन्तर्गत सोही वडाको वर्लेङमा मोटरबाटो जोडिएपछि गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले आइतबार उद्घाटन गरिन् । 
     
अध्यक्ष गुरुङले लामो समयको प्रयासपछि सडकको  नयाँ ट्र्याक खोल्ने काम पूरा भएको बताइन् । उनले भनिन्, 'लामो समयको प्रयासपछि सडकको नयाँ ट्र्याक  खोल्ने काम सम्पन्न भएको छ, यहाँको बासिन्दाले भोग्नुपरेको एउटा समस्याको सामाधान भएको छ ।'

 उनले गाउँमा सडक पुगेसँगै आयआर्जनका लागि कृषिकर्मममा ध्यान दिन स्थानीयवासीलाई आग्रह गरिन् । अधिकांश चेपाङ  समुदाय रहेको यस भेगमा गाउँपालिकाले व्यवसायी कृषिका लागि यसअघि उन्नत जातको बीउबिजन वितरणका साथै र तालीम  प्रदान गरेको भन्दै  थप सहयोग गर्ने  प्रतिबद्धता उनले जनाइन् । 

 वडा नं २ मा बिजुली बत्तीका लागि गाउँपालिकाले ६७ लाख बजेट विनियोजन गरिएको समेत उनले बताइन् । वडाध्यक्ष पञ्चबहादुर चेपाङले अब यहाँका जनताले उत्पादन गरेको तरकारी बजारसम्म लैजान सहज हुने बताए । 

 वडा नं २ को धेरैजसो टोलटोलमा सडक सञ्जालले जोडिसकेको उनको भनाइ थियो । सडक जोडिएसँगै  माथिल्लो काउले,  भोटो गाउँ, तोवाङ, हपनीलगायत ११ गाउँका स्थानीयलाई सहज भएको छ । वडाले चेपाङ समुदायको लागि आयआर्जनका कार्यक्रम ल्याउने बताइएको छ । 

गाउँपालिकाको रु ८५ लाख र केन्द्र सरकारको रु १५ लाख गरी एक करोडको लगानीमा उक्त सडकको नयाँ ट्र्याक खुल्ने काम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । भविष्यमा यो क्षेत्रका लागि मुख्य मेरुदण्ड हुने शक्तिखोर–फिस्लिङ सडकमा सबै टोलबाट जोडिने गरी बाँकी सडक निर्माण गर्नुपर्ने उनले बताए ।
  
 अहिले एशियाली विकास बैँक एडिबीको अनुदान सहयोगमा शक्तिखोर–फिस्लिङ सडकको कालोपत्रसहित  स्तरोन्नतिको काम भइरहेको छ । चितवनको कालिका नगरपालिकाबाट इच्छाकामनाको फिस्लिङस्थित पृथ्वीराजमार्गमा जोडिएको उक्त सडकबाट ईच्छाकामनाको विकट वडा १, २, ३ का  स्थानीय लाभान्वित हुनेछन् । रासस 

प्रकाशित मिति: : 2021-01-04 12:46:00

प्रतिकृया दिनुहोस्