उर्जामन्त्री फलानो चाहिन्छ। नेपाल विद्युत प्राधिकरणको प्रमुख हलानोलाई बनाउनुपर्छ। ढिस्कोलाई बनाउनुपर्छ। धेरैपटक कुलमान घिसिङलाई बनाउनुपर्छ भनेर सडकमा आन्दोलन भएको देखिन्थ्यो। सरकारका तर्फबाट बत्ती फिसिङलाई बनाउनुपर्छ कि भनेर चलखेल चलिरहेकै देखिन्छ।
शहरका उज्यालो चाहने जनता कुलमान घिसिङलाई बनाउनुपर्छ भनेर ‘जिन्दावाद, मुर्दावाद !’ गरिरहे। हामीलाई कुलमान चाहिन्छ भनेर आन्दोलन गर्दा जुम्लाबाट अझ भन्नुपर्दा कर्णालीबाटै प्रतिनिधित्व गरेर कुर्लिने ताल न बेतालका, सिद्धान्तको बेहाल भएका ज्ञानबहादुर शाही कुर्लिरहेका थिए। उनले गर्दा अन्धकार कर्णालीका बस्तीहरुमा लोडसेडिङ मुक्त हुने भयो कि ? कुइरोको कागलाई आश्चर्यजनक लाग्यो कि नाई ? सबैलाई अवगत के पनि होस् कि आफ्नो लागि ? आफ्नो पेटको लागि मात्र कुर्लीने बानी जनताको लागि होइन।
यहाँ हुम्ला जिल्ला लगायत कयौं दुर्गम क्षेत्रका जनता के नेपाली नागरिक हैनन् ? जसले टुक्किमार बालेर जिन्दगी गुजारी रहेका छन् कि अध्यात्मवादले भनेजस्तै उज्यालो बाल्ने भाग्यमा नलेखेर नै जन्मेका हुन् ?
गाउँका जनता के शरणार्थी हुन्, जसले ठेकेदार र चम्चेबाट उज्यालो बञ्चित हुनुपरेको छ ? कालिकोटका झरो बाल्ने जनतालाई के उज्यालो चाहिँदैन ? जहाँ सोलार वितरणको नाममा ठगिनुपरेको छ। नेपालका हरेक क्षेत्र, गाउँ–ठाउँमा उज्यालो चाहिन्छ भनेर हामीले कहिल्यै आवाज उठायौँ ? शहरिया पूँजीका खालमा तैरिने व्यक्तिपिच्छे ऐसआराम र सुविधा चाहनेहरुले जवाफ दिनुपर्छ– के हरेक सुविधा शहर केन्द्रित जनतालाई मात्र चाहिन्छ ?
नेपाली जनताको भविष्यलाई झल्झलाकार पार्ने, नेपालको जलस्रोतलाई सदुपयोग गरेर झिलिमिली पार्ने अर्को राष्ट्रलाई विद्युत बिक्री गर्ने खाले राज्य व्यवस्था चाहिन्छ। जुन व्यवस्थामा वैदेशिक गानामा नेपालीहरुले ताल र बेतालमा नाच्नु नपरोस्।
हामीलाई लाग्छ– सर्वहारा श्रमजिवी जनताको राज्य व्यवस्थाबाहेक सबै कुरा भ्रम हो। हामीलाई आत्मनिर्भर व्यवस्था चाहिन्छ, जसरी एउटा घरको सन्तानको पूर्ण जिम्मा त्यस घरका आमाबुबाले लिन्छन् ।
त्यस्तै गरी, जनताको जिम्मा त्यस देशको राज्य व्यवस्थाले लिनुपर्छ। गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा र रोजगारीको जिम्मा राज्य व्यवस्थाले गर्नुपर्छ।
क्षमता अनुसारको काम, आवश्यकताअनुसारको दामको व्यवस्था मिलाउने सरकार चाहिन्छ। जनताका आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने समुन्नत समाज निर्माण गर्ने खाले व्यवस्था चाहिन्छ। जुन कुरा बोलिएको छ त्यो व्यवहारमा लागू गर्न सक्नुपर्छ।
साना–साना गाढ घट्टे बिजुली निकाल्न आर्थिक लगानी गरेर चोरमुसालाई मात्र भयो। सबै घोटाला गरेर ६ महिनासम्म पनि नबलेर तार बिजुलीमा सीमित देखिन्छ। कहिँ कतै पनि दिगो विकास भएको देखिँदैन। उल्टै राज्यको आर्थिक दुरुपयोग भएको देखिन्छ।
घोटाला गर्ने, भ्रष्टाचार गर्ने, कमिसन खाने विकासमा बाधा पुर्याउने फल मुसाहरुले राज्यकोषको मोटो रकम कुम्ल्याएर सहरबजारको उज्यालो खोसिसके। घर, घडेरी जोडेपछि गरीब निमुखा जनता अँधेरी बस्तीका जन्तु जस्तै भएका छन्।
मैले तपाईंहरुलाई उदाहरण आफ्नै ठाउँको दिन खोज्दै छु । तिलागुफा नगरपालिका–९१, कालिकोटको जलविद्युत अहिले तार बिजुली भएको छ। राज्यको बजेट सही तरिकाले सदुपयोग नगरेर होचुवा तालले रकम जति एउटा पुँजीपतिको जिम्मा लगाउँदा सबै संरचना भंग भएको छ। त्यहाँका जनताले उज्यालो नपाउनु विडम्बना हो।
त्यस्तै, जुम्लाको हिमा गाउँपालिका वडा न. ६, पाथरखोलाको खागलखोला जलविद्युत अहिले आश गर्नु, भरोसा नगर्नुसम्म पुग्न लागिसक्यो। अझ जनताले विद्युत बाल्न नपाउँदै बिग्रिसक्यो। उपभोक्ता समिति, ठेकेदार, असफल जनप्रतिनिधि र चम्चे राजनीतिक झुण्डका कारण जनताले काम गरेका ज्यालासमेत पाएका छैनन्।
त्यो मात, बोसो लागेको र जाड खाएर नै आर्थिक हिनामिना गरेको सावाँब्याजसमेत घिसारेर जनताका सामु ल्याएर हिसाबकिताब गर्नुपर्ने देखिन्छ। त्यो समयको प्रतीक्षा गर्दा फरक पनि नपर्ने देखिन्छ। विभिन्न बाहानाबाजी गरेर मेसिन बिग्रेको छ भनेर तल (तराई) बोक्ने माथि (हिमाल, पहाड) बोक्ने गरेर हाँडी गाउँको जात्रा बनाउन सिपालु नकचराहरुका कारण ठूलो घोटाला भएको छ।
गाउँका जलविद्युत आयोजनाहरु भ्रष्टका खेती भएका छन्। गाउँपालिका, वडा पालिकाका प्रतिनिधि, उपभोक्ता समिति र चम्चेहरुले गर्दा अहिले अन्धकारमय ठाउँ भएको देखिन्छ।
यस्तै, नेपालका अधिकांश ठाउँमा चम्चेहरुको बिगबिगी भएकै कारण उक्त गाउँ, ठाउँ अन्धकारमय भएका छन्। त्यसैले कहिलेकाहीँ हामी सबैको आन्दोलन र नाराजुलुस सहर बजारको सुविधामा मात्र सीमित त छैन ? कुनै भ्रष्ट नेता–कार्यकर्ताका लागि मात्र त छैन ?
हाल जुम्लामा चुकेनी जलविद्युत आयोजना निर्माण हुँदैछ । यसलाई हामीले दिगो र मजबुत हिसाबले निर्माण गर्न सक्यौँ भने तिला गाउँपालिकामा बन्दै गरेको जलविद्युत आयोजनालाई कार्यकर्ता पाल्न मात्र नभएर जनताको आँखा बनाउँदै छु है भनेर जिम्मेवार भनौँदाहरुले सोच्यौँ भने देशको केही अंश भार कम हुने देखिन्छ।
अझ भन्नुपर्दा जुम्ली जनताको आँखाको नानी बन्ने देखिन्छ। सम्बन्धित निकायलाई आग्रह छ– उक्त लगानी तार बिजुली नहोस्, घर घडेरी र आफ्ना सन्तानको भविष्यका लागि नहोस्। देशका हरेक ठाउँको रोग नबुझियोस्।
हामी व्यक्तिलाई कुर्सी र ठाउँमा पुर्याउँदा पुर्याउँदै थाकेका नेपाली, यस्तै गरेर तपाईं हाम्रो ठाउँमा कयौँ समस्याहरु होलान्। देश विकास कुन चराको नामजस्तो छ। सार्वजनिक संस्थानहरु सबै दलालहरुले निजीकरण गरिसके। अब हामी सबै मिलेर यिनलाई ठिक पार्नुको विकल्प देखिँदैन।
नेपालका उपलब्ध नदीनालाहरुबाट ८३,००० मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ भने कर्णाली नदीबाट मात्र ३२,००० मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ तर कर्णालीकै बस्तीहरु अँध्यारा छन्। यो सबै अविकसित राज्य व्यवस्थाले गर्दा हो।
५० हजार मेगावाट विद्युत उत्पादन गरेपछि हाम्रो देशका कुकुर बिरालो लगायतका जन्तुले पनि उज्यालो पाउनेछन् भने बाँकी उत्पादनले देशको आर्थिक उन्नति तीव्र गतिमा हुन्छ। विभिन्न उद्योग कलकारखाना सञ्चालन गर्न सकिन्छ भन्ने पाठ सबैलाई अवगत हुँदाहुँदै किन राज्यका ठूलाठालुले कुकुरको पुच्छर बन्नुपरेको होला ?
हामीले टाउको दुख्यो भने खुट्टाको औषधि गरिरहेका हुँदैनौँ। गर्नु पनि त हुँदैन तर सरकार गरिरहेको छ। किनकि देशको अवस्था यति नाजुक र चिन्ताजनक यही कारणले भएको हो। फलानोको सरकार, हलानालाई विद्युत प्राधिकरणको प्रमुख बनाउँदा लोडसेडिङ मुक्त हुन्छ भन्नु भन्दा पनि समग्र नेपालीलाई अध्यारो मुक्त चाहिन्छ भनेर सोच्न नितान्त जरुरत देखिन्छ।
हालको असफल राज्य व्यवस्थाले गर्दा जनताको भविष्य नै अन्धकार बनेको छ। देशका हरेक बस्ती अध्यारै छन्। जलस्रोत खेर गइरहेको छ। जलस्रोतमा पैसा खेर गैरहेका छन्।
अरु देशका जनावरले उज्यालो देखिसके दुर्गम बस्तीमा सोलार पुगेको छैन। लाचार सरकारका र अगतिलाले चलाएको देशका कारण कयौं बस्ती अन्धकार नै छन्। दुर्गम बस्तीमा यस्तो छैन । उस्तो छैन भनेर आवाज कहिल्यै उठाएनौं। हामी सहर छोडिसकेपछि गाउँमा टुक्किमार बाल्नेहरुले अर्काको घरमा मोबाइल फोन चार्ज लगाउन जाने बनाउने देशको नेतृत्व गर्नेहरु नै हुन्।
हामी सबैको आन्दोलन अध्यारोमुक्त नेपालका लागि केन्द्रित गर्न आवश्यक छ। हाम्रो क्रान्ति समुन्नत समाज निमार्णका लागि, व्यवस्थित शासन व्यवस्था स्थापनाका लागि एकीकृत हुनुपर्ने देखिन्छ। आम जनतामा आफ्नो भविष्य आफैँ बनाउन लाग्नुपर्ने प्रमुख अविभारा आएको देखिन्छ।
हाम्रो पुस्ताले क्रान्तिलाई मजबुत हिसाबले समातेर राष्ट्रको आर्थिक उन्नति गर्न सक्नुपर्छ। वर्तमान समयमा तपाईं हामी सबैका आवश्यकता परिपूर्ति नहुनुको बाधक तत्व दलाल पूँजीवादी प्रवृत्तिले मार्केट लिनु हो। जसलाई हामीले धुलो चटाउन सक्नुपर्छ।
चकनाचुर भविष्य हुनु परनिर्भर राज्यव्यवस्थाको निशानिका कारणले हो। अझ वर्तमान सामाजिक फाँसीवादी सरकारले ब्रम्हलुट गरिरहेको छ। दलाल पूँजीवादी संसदीय व्यवस्थाको नाङ्गो नाचले देश पछाडि धकेलिने र विदेशीहरुको हातमा जाने खतरा देखिन्छ।
त्यसैले जनताको अविभावकत्व निर्वाह गर्ने राज्य व्यवस्था चाहिन्छ। दुर्गम बस्तीमा दिगो बिजुली चाहिन्छ। हामीलाई अन्धाकारमुक्त देश भएको देख्ने मन छ। त्यसका लागि आमूल परिवर्तन चाहिन्छ। आमूल परिवर्तन गर्नको लागि दलाल भ्रष्टलाई ठीक पार्न तपाईं हाम्रो एकता चाहिन्छ। आम जनताको हित गर्ने वैज्ञानिक समाजवादी व्यवस्था चाहिन्छ ।