कलामा टाइम र स्पेस

मुकेश मल्ल

कलाकारले जमिनमा खाल्टो खनी ध्यानमग्न बुद्धको मूर्ति गाडिदिएका थिए। एकातिर बम र गोलाकोे थुप्रो कलाको अर्को पाटो थियो। कलाकारले जिउँदो परेवालाई कसेर चारैतिरबाट तनक्क ताने। यसपछि देखिएको परेवाको छटपटीलाई उनले जमिनमा खाल्टो खनी यसैमाथि राखे।

कलाकार गोपाल कलाप्रेमीले सन् २००२ मा ‘इन्स्टलेसन १’ नामक एउटा अचम्मको काम गरे। पहिला हुने गरेको कलाको प्रकृतिभन्दा उनको यो काम सर्वथा अलग थियो। उनको काममा कलाको संयोजन, संगठन, बुनावट र प्रस्तुति पनि परम्पराभन्दा पृथक् थियो। खुला वातावरणमा कलालाई सिर्जना गर्नु (अर्थात् स्टुडियो–आर्टभन्दा फरक), आफ्नो बनिसकेको कलालाई पुनव्र्याख्याका साथ पुनस्र्थापना गर्नु, अक्षरहरूलाई समावेश गर्नु, प्रश्न र उत्तरको प्रक्रियालाई संलग्न गर्नु, ‘साइट–स्फेसिफिक’ प्रकृतिलाई अँगाल्नु आदि–इत्यादि यो कलाको मूल स्वरूप थियो।  

मूलतः यो कलाको सिर्जना–प्रक्रिया यसरी अगाडि बढेको देखिन्छ। काठमाडौंस्थित ओशो तपोवनको अनगिन्ती सिँढीलाई आफ्नो अनुकूलतामा कलाकारले एउटा स्पेस बनाए। अब यो सिँढी नभएर कलाकारको एउटा गतिलो पात्र थियो। जहाँ उनले आफैँले बनाएका दुईवटा मूर्तिलाई स्थापित गरे। पहिले कुनै बेला भिन्दै प्रसंग र भिन्दै उद्देश्य लिएर यी मूर्तिको निर्माण भएको थियो होला। तथापि अहिले अर्कै भूमिकाका साथ कलाकारको यो अर्को दरिलो पात्र भएको छ। यी मूर्ति यसरी उभ्याइदिँदा एउटा व्यक्ति विशेष माथि उक्लँदै गरेको, अनि अर्को तल ओर्लंदै गरेको दृश्यावलोकन हुन्थ्यो। माथिका सिँढीमा आला फूल राखिएको थियो भने तलतिरका सिँढीमा सुकेका फूल। यी आला र सुकेका फूल पनि नयाँ भूमिकाका साथ कलाकारको एक पात्रको रूपमा यहाँ उपस्थित भएका थिए।  

प्रकाशित मिति: : 2021-01-02 09:48:00

प्रतिकृया दिनुहोस्