जुम्लाको चन्दननाथ नगरपालिका ४ मा ६९ वर्षीया एक महिलाको शंकास्पद मृत्यु भएको छ।
गत पुस १६ गते आफ्नो घरमा सतनदेवी रोकाया मृत्य फेला परेपछि दाहसंस्कार गरौं भन्ने समयमा गहना नभएको देखिएकाले कसैले हत्या गरेको हुन सक्ने आफन्तको अनुमान छ।
एक्लै बस्दै आएकी उनको आफन्तले घरमा हातमा औंठी, छाप, कानमा गहनासहित चार तोला सुनका गहनासमेत नभएको र घाटीमा थिचेको घाउ देखिएकाले प्रहरीलाई अनुसन्धान गरीपाउँ भन्दै निवेदन दिएको आफन्त मिनबहादुर महतले बिएल नेपाली सेवालाई जानकारी दिए।
‘पहिले रक्तचाप भएर निधन भएको भनिएयता पनि पछि केही घाउ देखिएको र गहना लुटेरको देखिएकाले प्रहरीसँग उजुरी गरेका हौं,’उनले भने।
डीएसपी माधवप्रसाद काफ्लेले घटनाको अनुसन्धान भइरहेको बताए।
‘आफन्तले १६ गते दाहासंस्कार गर्न तयार भएको समयमा केही गहना नभएको र हत्या गरिएको आशंकापछि हामीलाई जानकारी दिनुभएको हो,’ उनले भने, ‘प्रहरीले गहिरो अध्ययन गरिरहेको छ।’
मृतकको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरि शुक्रबार दाहशंस्कार गरिएको छ।
उक्त शंकास्पद मृत्युलाई लिएर चन्दननाथ नगरपालिकाले सुरक्षा चुनौंतीबारे प्रहरी प्रशासनको ध्यानाकर्षण गरेको छ।