‘खोल्नुभन्दा बन्द गर्नुमा फाइदा रहेछ’

अनलाइनखबर

काठमाडौँ

विश्वास खड्काथोकी

 क्रिसमस आयो, गयो । आज अंग्रेजी वर्षको अघिल्लो दिन हो । योबेला ठमेलमा आन्तरिक र वाह्य पर्यटकको खचाखच उपस्थिति हुनुपर्ने हो । हरेक चोक सिंगारिनुपर्ने हो । रेस्टुरेन्ट र होटेलहरु ग्राहकले खचाखच हुनुपर्ने हो । तर, यो वर्ष ठमेल विगतजस्तो देखिएन ।

चौबीसै घण्टा अनिँदो रहने ठमेल कोभिड-१९ को महामारीका कारण अहिलेसम्म सुनसान छ । न मानिसहरुको चहल-पहल छ, न न्यू इयर इभको सेलिब्रेसन बनाउने मुडमा छ ठमेल ।

बरु, मध्य दिनमा पनि पाइलैपिच्छे सटरहरु बन्द देखिन्छन् । खुलेका रेस्टुरेन्ट, होटेल खाली छन्, हेण्डीक्राफ्टका पसलमा बसेका सञ्चालकहरु निराश छन् । ‘हामीले १० वर्षे युद्ध र जनआन्दोलन, नाकाबन्दीमा पनि ठमेलको व्यवसायबाहेक कुनै विकल्प सोच्नुपरेको थिएन’, ठमेल पर्यटन विकास परिषदका कोषाध्यक्ष पुण्यराम लगेजु भन्छन्, ‘कोरोनाकालमा लकडाउनसँगै ठमेल कोमामा गएको छ ।’

लगेजुका अनुसार ठमेलका करिव ३० प्रतिशत व्यवसायी पलायन भइसकेका छन् । अब ठमेल फेरि पहिलेकै अवस्थामा फर्किन सक्ला त भन्ने यक्ष प्रश्न उब्जेको छ ।

ठमेलमा डेढ सयभन्दा बढी रेस्टुरेन्ट, करिव तीन सयको संख्यामा होटेल, दुई हजार हाराहारी र एक हजारभन्दा बढी कार्गो व्यवसायी रहेका थिए । ठमेल पर्यटन विकास परिषदमा मात्र दुई हजार व्यवसायी सूचीकृत छन् ।

प्रकाशित मिति: : 2020-12-31 16:15:00

प्रतिकृया दिनुहोस्