कोरोना भाइरसविरुद्ध औषधि बनाइसकेको रुसकाे दाबी

रुसले कोरोना भाइरसविरुद्ध औषधि आफूले बनाइसकेको दाबी गरेको छ। संघीय मेडिकल तथा बायोलोजिकल एजेन्सी एफएमबिएले काेरानाविरुद्ध औषधि विकास गरिएकाे घोषणा गरेको हाे।

औषधि ९९ प्रतिशत प्रभावकारी रहेको एफएमबिएकी प्रमुख भोरोनिका सेकभोर्तसोभाले दाबी गरेकी छन्। तर यसको क्लिनिकल परीक्षण हुन बाँकी रहेकाे उनले बताएकी छन्।

उनका अनुसार औधिको प्रिक्लिनिकल अध्ययन पूरा भइसकेको छ र यस क्रममा औषधि ‘अति सुरक्षित र ‘अति प्रभावकारी’ देखिएको छ।

‘क्लिनिकल परीक्षणले पनि यसकाे प्रभावकारिता पुष्टि गर्‍याे भने यो विश्वको पहिलो सुरक्षित र प्रभावकारी एन्टी-भाइरल औषधि हुनेछ जसको तुलना विश्वका अन्य कुनै औषधीसँग हुँदैन,’ सेकभोर्तसोभाले भनेकी छन्, ‘यो पहिलो इटियोट्रपिक औषधि हो जसले सिधा भाइरसलाई प्रभावित गर्नेछ। खासमा यो कोरोना भाइरसविरुद्ध एन्टी-डोट हो।’

यसअघि रुसले कोरोनारिुद्ध ‘स्पुतनिक-भी’ खोप बनाइसकेको छ। जुन खोपलाई रुसले अन्तिम परीक्षण बाँकी छँदै कोरानोविरुद्ध संसारको पहिलो सफल खोप दाबी गरेको थियो। तर विश्वका कतिपय वैज्ञानिकले भने रुसले खोप घोषणा गर्न हतार गरेको भन्दै शंका व्यक्त गरेका थिए।

सो निकायले आफ्नो खोप विश्वसनीय र प्रभावकारी भएको, तर शरीरमा कुनै प्रतिकूल प्रभाव नपर्ने दाबी पनि गरेको छ। स्पुतनिक भी खोप लगाएकालाई लाभ नै भएको र धेरैले राहत महसुस गरेको जनाइएकाे छ।
 

प्रकाशित मिति: : 2020-12-31 08:26:00

प्रतिकृया दिनुहोस्