सडकबाट सरकार बन्दैन, चुनावमा जाने हिम्मत देखाउनुहाेस्: मुख्यमन्त्री पोखरेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल र माधव नेपाल समूहलाई लक्षित गर्दै सडकबाट सरकार नबन्ने बताएका छन्। 

सरकारले निर्वाचनको मिति घोषण गरेको बताउँदै उनले चुनावमा जाने हिम्मत देखाउन प्रचण्ड–नेपाललाई आग्रह समेत गरेका हुन्। 

रोल्पाको सुलिचौरमा नेकपाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले प्रचण्ड–नेपाल समूहले प्रथम अध्यक्षमाथि संगीन आरोप लगाएर पदच्यूत गर्ने षडयन्त्र गर्दा, त्यो षड्यन्त्र नै आजको संकटको कारक भएको स्पष्ट पारे। 

उनले भने,‘पार्टी एकताको मर्म, पार्टी विधानलाई बेवास्ता गरेर, आम जनता र कार्यकर्ताको भावनालाई लत्याएर पार्टी विभाजन गर्ने काम प्रचण्डको अगुवाईमा भयो।’

नेता पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कदम संविधान सम्मत भएको समेत बताएका छन्। 

भेलामा उनले भने, ‘रोल्पा परिवर्तनको पक्षमा छ। त्यसको परिणाम स्थानीय तहको चुनावमा पनि देखिसक्यो। प्रदेश सरकारले रोल्पामा थुप्रै बिकासका कामलाई प्राथमिकता दिएको छ।’

भेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय  सदस्य तथा लुम्बिनी प्रदेश सह(ईन्चार्ज बैजनाथ चौधरी, केन्द्रीय सदस्य गोकुल घर्ती, केन्द्रीय सदस्यहरु कुमार दसौदी, शान्तकुमार वली, बालाराम बुढा, ईश्वरी जिएमलगायतका नेता र नेकपा रोल्पा क्षेत्र १ का कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

भेलाको अध्यक्षता नेकपा नेता खिमचन्द्र पुनको गरेका थिए, भने बोम बहादुर पुनको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन दिपक बिष्टले गरेका थिए।

प्रकाशित मिति: : 2020-12-30 18:25:00

प्रतिकृया दिनुहोस्