उई दुःख सईरनु, जो दुःख ईश्वरले दियो, उई दुःख सईरनु!
न फूल पहिरनु, न मैले कोपिला टिप्नु, न फूल पहिरनु!
माथिको गीतको भावार्थझैं समय, परिस्थिति, प्रकृति, पद्धति वा राजनीति। जसका कारण दुःख वा पीडा भए पनि गरिब, असहाय र आवाजविहीन वर्गसँग विकल्प छैन पीडा सहनुको।
तिनलाई पीडाबाट मुक्ति दिलाउने औषधि अझसम्म बनेको छैन।
यस्ता वर्ग देशका कुनाकन्दरामा जहाँकहीँ छन्। त्यस्तै लामो समय पीडाबोध गर्ने एउटा वर्गको कथाव्यथा छ यहाँ।
कुरो चालीस सालतिरको। अछामका दुइटा गाउँ कुसकोट र ठाँटीका जनताबीच एउटा डाँडाको विषयलाई लिएर विवाद हुन्छ। विवाद फक्रिएर लडाइँमा परिणत हुन्छ। दिनैपिच्छे दुई गाउँबीच कुटाकुट।
दाजुभाइ, आफन्तबीच नै साँधसिमानाको लागि लडाइँ। लडाइँको लामै शृंखला चल्दा घाटा कुनै एक पक्षलाई हुँदैन। दुवैलाई हुन्छ। २०४५ सालमै नापी भई लालपूर्जा पाउनुपर्ने काम बिथोलिन्छ।
सँगै नापी सुरू गर्ने छिमेकी गाउँलेका हातहातमा जग्गा धनी प्रमाण पूर्जा अर्थात लालपूर्जा आउँछ। यी भने बातबातमा हातपातमा उत्रिन्छन्। वरिपरिका जिल्लामा लालपूर्जा पाउँदाको खुसियाली छाउँछ। तर, कुसकोट र ठाँटीबासी दशकौंसम्म जग्गा धनी प्रमाण पूर्जा विहीन भई बस्नुपर्ने अवस्थाको बिजारोपण गर्छन्।