कोरोनाले असोज र कात्तिकमा सबैभन्दा धेरैले ज्यान गुमाए

बाह्रखरी

काठमाडौँ

अस्मिता रिजाल

पछिल्लो समय कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या घट्दै गएको छ । संक्रमणका कारण पुसको पहिलो साता तीन महिनाकै सबैभन्दा कम मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।

पुस ७ गते कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको थियो । न्यूनतम ३ देखि अधिकतम १५ सम्म रहेको मृतकको संख्या अघिल्ला दुई महिनाको तुलनामा ० दशमलव ४ प्रतिशतले कम हो । 

असोज र कात्तिकमा सबैभन्दा धेरै संक्रमितले ज्यान गुमाए
नेपालमा जेठको अन्तिम सातादेखि फैलिँदै गएको कोरोना महामारीले साउनको अन्तिम साता आइपुग्दा उच्च रुप लियो । समुदायसम्म पुगिसकेको यसको रुप लकडाउन र सार्वजनिक संस्थाहरू बन्दका बाबजुत पनि भयावह बन्दै गयो । त्यही समयमा नेपालका महत्त्वपूर्ण चाडपर्व परेकाले समेत महामारी झनै फैलिने वातावरण बन्यो ।

असोजको पहिलो साता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा दैनिक २ देखि ५ जनाको मृत्यु भएको देखिन्छ । जतिबेला सरदर १२ हजार मानिसमा पीसीआर परिक्षण गर्दा हजारदेखि १५ सयसम्म नयाँ संक्रमित देखिएका थिए । तर असोजकै दोस्रो साताबाट संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढेको देखिन्छ । असोज १९ गते १९ जना र २५ गते २२ जनाको मृत्यु भएको तथ्यांक छ । कात्तिक पहिलो साता पनि मृतकको संख्या बढ्दै गएको देखिन्छ । कात्तिक ७ गते १६ हजार ८ सय ३३ जनामा परीक्षण गरिएकामा चार हजार चार सय ९९ संक्रमित भेटिए । सोही दिन १७ संक्रमितको मृत्यु भयो । यही दरमा रहेको संक्रमितको संख्या कात्तिकको मध्यतिर बढेर गयो ।

कात्तिक १९ गते नेपालमा कोरोना महामारी अवधिकै सबैभन्दा धेरै ३० जनाको मृत्यु भयो भने तीन हजार तीन सय नौजना नयाँ संक्रमित भेटिए । कात्तिक २६ गते पनि मृतकको संख्या २६ पगेको थियो । यसरी उकालो लागेको मृतकको संख्या मंसिर लाग्दै गर्दा केही घटेको देखियो ।

प्रकाशित मिति: : 2020-12-28 12:04:00

प्रतिकृया दिनुहोस्