संसद विघटन गर्ने ओली कदम प्रतिगमनलाई निम्तो: योगेश भट्टराई

नेकपा (प्रचण्ड)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर प्रतिगमनलाई निम्तो दिएको बताएका छन्।

आइतबार बाँकेमा कार्यकर्ता भेला तथा कार्यकर्तासँग नेता भट्टराईले बहुमत प्राप्त सरकारको प्रधानमन्त्री, देशको सबै भन्दा ठूलो पार्टीको अध्यक्ष हुँदासमेत सरकार र पार्टी सञ्चालन गर्न नसकेको भन्दै उनले  संसद विघटन गर्ने संविधान विपरित कार्य गरेर जनमतको अपमान गरेको आरोप लगाए।

उनले भने, ‘केपी ओलीले नेपाली जनताको जनमतको अपमान गरेका छन्।  संविधान माथि प्रहार गरेका छन्। संसद विघटन असंवैधानिक हो। यो जनमतको अपमान हो।’ 

उनले प्रधानमन्त्री ओली तानाशाह बन्न खोजेको पनि आरोप लगाए। ‘प्रधामन्त्री ओली  देश, व्यवस्था र पार्टी आफ्नै हुकुममा मात्रै चल्नुपर्छ भन्ने सोच्छन्।  जुन कुरा कम्युनिष्ट शासन भएको देशमा दिवास सपना मात्रै हो।’

भट्टराईले ओलीमा मेरो हुकुमले मात्रै पार्टी चल्नुपर्छ भन्ने दम्भ रहेको समेत बताए। ‘उहाँ  म नै राज्य हुँ भन्ने सोच्नुहुन्छ। सबै चिज मै हुँ भन्ने अंहकार भएको पात्र हो ओली,’ उनले भने।

ओलीको यो कदमले आफैलाइ राजनीतिक इतिहासमा पतनको बाटोतिर  उन्मुख गराएको उनले ठोकुवा गरे। 

उनी भन्छन्, ‘ यो देश कानुन र संविधान भएको देश हो। कम्युनिष्ट शासन भएको देश हो।  हामी संसद पुर्नस्थापना गरेरै छोड्छौ। केही समयपछि उहाँ राजनीतिक संग्रहालयमा भेटिनुहुन्छ। हेर्दा जानु होला उहाँको दिनगन्ति सुरु भइसक्यो।’ 

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर असंवैधानिक कदम चालेको पनि उनको भनाइ थियो। यस्तै नेकपा बाँकेले संसद विघटन विरुद्ध साताव्यापी कार्यक्रम समेत घोषणा गरेको छ।

प्रकाशित मिति: : 2020-12-27 21:03:00

प्रतिकृया दिनुहोस्