सोमबार अर्थात मंसिर २९ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब नौ बज्नै लाग्दा प्लेन ल्यान्ड गर्यो। प्लेनबाट उत्रिन आतुर उनीहरु ढोका खुल्ने बित्तिकै लाइन लागेर एक–एक गर्दै ओर्लिन थाले। लस्करै प्लेनबाट ओर्लिदै गरेका उनीहरुलाई देख्ने बित्तिकै अन्दाज लगाउन सकिन्थ्यो, उनीहरु कुनै मिसनबाट फर्किएका हुन्।
नेपाली सेनाको पोशाकमा सजिएको २ सय १४ जनाको टोलीले लगाएको यूएनको लोगो टाँसिएको निलो रंगको टोपीले अझै यो प्रष्ट बनाइदिएको थियो।
लामो समय बाहिर बसेर नेपाल फर्किएका उनीहरुको थर्मल गनले ज्वरो नापिँदै थियो। ज्वरो नापिसकेका जति खुट्टा फट्फट् उच्चालेर भुँइमा टेकिरहेका थिए। पहिलो पाइला भुँइमा टेकेका उनीहरुले हातले पनि भुँइलाई छोए। त्यही हातले निधार छोए र मातृभुमिलाई ढोगे।
सबै जनाले मास्क लगाएका थिए। अनुहार हेरेर मान्छे चिन्न मुस्किल थियो। तर मास्क लगाएका उनीहरुको मुस्कान आँखाबाट छल्किरहेको भने स्पष्टै देखिएको थियो। लामो समयपछि नेपाल फर्किएका उनीहरुको खुसी हाउभाउमा ठ्याक्कै उत्रिएको थियो।